– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा साता पहिलो दिनै कारोबारमा निकै बढोत्तरी आएको छ। विगत समयमा एक दिनमा हुने कारोबार अहिले डेढ–दुई घन्टामै हुन थालेको छ। 

आज बजार खुलेको ३ घन्टामै १३ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ। बजारमा कारोबार बढ्नुमा लगानीकर्ता र नियामक निकायले आ–आफ्नै तर्क प्रस्तुत गरेका छन्। 

अस्ट्रेलियामा रहेका यादव पौडेल अहिले विदेशमा रहेका धेरै नेपालीले नेपालको सेयर बजारप्रति निकै चासो राख्न थालेको बताउँछन्। ‘रेमिट्यान्सको पैसा आफन्तलगायत चिनजानका साथीभाइमार्फत पुँजी बजारमा लगाउन थालेका छन्, उनीहरु आफू पनि विदेशबाटै सेयर किनबेचमा सक्रिय रुपमा लागेका छन्’, उनी भन्छन्, ‘जेहोस् अहिले नेपालको सेयर बजारमा निकै आकर्षण बढेको छ।’

सूचना पाउन सहज भएकोले तथा जता बसे पनि टीएमएसबाटै सहजै कारोबार गर्न सकिने भएकोले विदेशमा बसेका नेपालीहरुले नेपालको सेयर बजारमा सक्रिय रुपमा लगानी गरिरहेको पौडेल बताउँछन्। ‘बेला–बेलामा टीएमएसमा समस्या आउँदा भने केही असहज हुने गरेको छ’, उनी गुनासो पनि गर्छन्, ‘ टीएमएसमा कुनै समस्या नआउने हो भने विदेशमा नेपालीले बचत गर्ने पैसाको लगभग ६० प्रतिशत नेपालको सेयर बजारमा नै जाने थियो।’

नेपालको सेयर बजारलाई नजिकबाट नियालेका क्यानडामा बस्ने लोक भट्टराई पनि नेपालको सेयर बजारमा आफन्तको नाममा लगानी गर्ने गरेको बताउँछन्। ‘मैले लन्डन तथा अमेरिकी मार्केटमा पनि लगानी गर्छु तर नेपालको सेयर बजारमा नाफाको अनुपात बढी छ’, उनी भन्छन्, ‘त्यसैले नेपालको पुँजी बजारमा बढी लगानी गर्छु।’

अलि सुधारिएको प्रणाली र इन्ट्राडे कारोबार हुने भए त नेपालको सेयर कारोबार सबैभन्दा उत्तम हुने भट्टराई बताउँछन्। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले भने यसरी दैनिक रुपमा कारोबार बढ्नुमा टीएमएसको मुख्य भूमिका रहेको दाबी गरे। ‘अहिले सस्तो ब्याजदरमा पैसा उपलब्ध हुनुले सेयर बजारमा कारोबार दिनदिनै बढिरहेको छ’, उनले भने, ‘कतिपय कम्पनीको सेयरमूल्य अझै तल छ तथा नाफाको प्रतिशत बढी भएर अहिले सेयर बजारमा आकर्षण बढेको देखिन्छ।’ 

ब्रोकरले माग गरेअनुसार नयाँ टीएमएस सञ्चालनका एपीआई पोलिसी नेपाल धितोपत्र बोर्डमा पठाइसकेको सीईओ साउदले बताए। ‘बोर्डबाट पारित भएर पोलिसी आएमा नेप्सेले तुरुन्त प्रक्रिया अगाडि बढ्छ’, उनले भने। 

इन्टरनेटमा आउने समस्याका कारण टीएमएस बेला–बेला अवरुद्ध हुने गरेको दाबी साउदले गरे। ‘आज पनि एक लगानीकर्ताले मलाई फोन गरेर टीएमएसमा समस्या आयो भनेर गुनासो गरे तर टीएमएस राम्ररी नै चलेको थियो’, उनले भने, ‘मेरो विचारमा ब्रोकर र लगानीकर्ताले इन्टरनेटको क्षमता नबढाएसम्म उनीहरुले सञ्चालन गर्ने टीएमएसमा समस्या रही नै रहन्छ।’