काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन्। 

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्दसत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन एमालेले चाहेको बताएका हुन्। विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नीति एमालेले बनाइरहेको उनले बताए। 

एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको पोखरेलको भनाइ थियो। 

पोखरेलले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै संघर्ष गर्नुपरेको स्मरण पनि गरे। संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने उल्लेख गर्दै उनले संगठनलाई बलियो बनाउँदामात्रै पार्टी पनि बलियो हुने धारणा राखे। उनले सर्वसम्मत नेतृत्व चयन गर्न मञ्चलाई आग्रह पनि गरे।