काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली आवेदन दिन आज (पुस ५ गते) अन्तिम दिन रहेको छ। 

कम्पनीले गत मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको थियो। आज बैंकिङ समयसम्म विदेशमा रहेका श्रमिकले आवेदन दिन सक्ने बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले जनाएको छ। 

उता आयोजना प्रभावित क्षेत्रका स्थानीयले अब पुस २० गतेसम्म यो आईपीओमा आवेदन दिन पाउने भएका छन्। मागबमोजिम आवेदन नपरेकोले स्थानीयका लागि बिक्री खुला अवधि लम्ब्याइएको क्यापिटलले जनाएको छ। यद्यपि यो अवधिभित्र मागभन्दा बढी आवेदन परेको खण्डमा कुनै पनि दिन सूचना प्रकाशित निष्कासन बन्द गरिने क्यापिटलको भनाइ छ। 

कम्पनीले स्थानीयका लागि १०० रुपैयाँ अंकित दरले कुल ३१ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई निष्कासन हुने २१ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि बिक्री खुला गरेको हो। स्थानीयका लागि जारी कुल कित्तामध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ।

त्यस्तै आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुका लागि ७ लाख ३५ हजार कित्ता निष्कासन गरिएको छ। 

आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्। उनीहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्।
यसैगरी वैदेशिक रोजगारमा रहेकाहरुले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारमा रहेका नेपालीले भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।