काठमाण्डौ । सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली आवेदन दिने आज पुस ६ गते अन्तिम दिन रहेको छ। 

गत मंसिर २१ गतेदेखि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। 

कम्पनीले सर्वसाधारणमा निष्कासन हुने जारी पुँजीको १० प्रतिशतले हुन आउने ५ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने ५० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरिएको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्। 

यसैगरी कम्पनीले जारी पुँजी ५० करोडको १० प्रतिशतले हुने ५ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुलेको छ। जसअनुसार १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ जारी गरेको छ। 

स्थानीयका लागि निष्कासित आईपीओमा भने आवेदन दिने म्याद पुस २१ गतेसम्म थप गरिएको छ। यसअघि यो आईपीओको निष्कासन बन्द छिटोमा पुस ६ गते हुने भनिएको छ। यदि थप गरिएको मितिअगावै मागबमोजिम आवेदन परेको खण्डमा कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ। 

यो आईपीओमा आयोजना (अतिप्रभावित क्षेत्र इलाम जिल्लाका इलाम नगरपालिका (बारबोटे)५, इलाम नगरपालिका (सुङ्बेक) २ र माईजोगमाई–५ सोयोङ्का स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्रबाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता छुट्याइएको छ। 

स्थानीयले भने इलामको प्रकाशपथस्थित गुडविल फाइनान्स, इलामको चोकबजारस्थित माछापुच्छ्रे बैंक, इलामको भानुपथस्थित सानिमा बैंक, इलामको सितलीस्थित सानिमा बैंक र इलामको बरबोटस्थित सुपरमाई हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।