काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओ भर्ने आज साउन १८ गते अन्तिम दिन रहेको छ। 

गत साउन ४ गतेबाट कम्पनीले विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो। 

यो आईपीओमा विदेशमा रहेका श्रमिकले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। 

विदेशमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि कम्पनीले सर्वसाधारणका लागि दोसे चरणमा आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कुल कित्ताको २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

हाथवे इन्भेस्टमेन्टको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।