काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओ भोलि साउन २५ गते बाँडफाँड गरिने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ। 

यो कम्पनीले गत साउन ४ गतेदेखि साउन १८ गतेसम्म विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। 

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको थियो। 

अब कम्पनीले सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कुल कित्ताको २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।