काठमाण्डौ । विदेशी लगानीकर्ताहरुलाई विश्वासमा लिएर विदेशी लगानी भित्र्याउने तयारीमा लागेको सरकार स्वदेशकै साना सेयर लगानीकर्ताको विषयमा भने अनुदार बन्दा बजार पुनः घट्न थालेको छ ।
सरकार र मातहतका एजेन्सीहरुले सेयर लगानीकर्ताहरुले लामो समयदेखि उठाइरहेका मागहरुको सम्बोधन गरेका छैनन् ।
मुद्रा तथा पुँजी बजारको विकास र बिस्तारका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले एक अध्ययन कार्यदल बनाए, सो कार्यदलले ५८ बुँदे सुझावसहितको प्रतिवेदन पेश गर्यो । उच्चस्तरीय बित्त आयोगको बैठक तत्काल बसेर ती बुँदा कार्यान्वयनमा ल्याउन सम्बद्ध निकायलाई अर्थमन्त्रीले निर्देशन दिए पनि ती ५८ बुँदाको पूर्ण कार्यान्वयनमा कसैले चासो दिएको छैन ।
एकातिर बजार सुधारका लागि सञ्जिवनी बुटी मानिएको ५८ बुँदा अलपत्र अवस्थामा छ भने उच्च ब्याजदरको समस्या अझै समाधान हुन सकेको छैन । निक्षेपमा ब्याज तोक्दा भद्र सहमति काम गर्ने बैंक तथा बित्तीय संस्थाहरु ऋणको ब्याजदर भने बजारले नै निर्धारण गर्छ भनिरहेका छन् ।
एकातिर ब्याजदर अपेक्षित रुपमा घटेको छैन भने अर्कोतर्फ आफूले गरेको लगानीको सुरक्षाको ग्यारेण्टी छ भन्ने विषयमा स्वदेशका साना तथा ठूला सेयर लगानीकर्ता विश्वस्त हुन सकेका छैनन् ।
बजारमा विभिन्न गिरोहहरुको तीव्र चलखेललाई सरकारले कम गर्न सकेको छैन । जसकारण साना–साना पूँजी जुटाएर सेयरमा लगानी गर्नेहरु टाट पल्टिन थालेका छन् ।
विश्वका प्राय सबै बजारमा इन्साइडर ट्रेडिङ हुन्छ, तर नेपालमाजस्तो खुलेआम हुँदैन । यो प्रवृति अन्त गरी लगानीकर्ताको लगानीको सुरक्षाका लागि सरकारले अझैसम्म पनि ठोस कदम चाल्न सकेको छैन ।
सरकारी नीति तथा कार्यक्रम बजारमैत्री नभइरहेकै अवस्थामा सेयर बजारका लागि कोशेढुंगा सावित हुने ठानिएको अनलाइन कारोबार प्रणाली पछिल्लो समय भद्रगोलपूर्ण अवस्थामा छ । १९ करोड बढी खर्चेर ल्याइएको सिस्टमले सामान्य खरीदबिक्री चाप गर्ने समेत ल्याकत राख्दैन । अनलाइन प्रणालीको भद्रगोल अवस्थाका कारण समेत लगानीकर्ताहरुले सेयरमा गरिएको लगानी सुरक्षित छैन भन्ने नकारात्मक अनुभूत गरिरहेका छन् । यसले समेत बजार घटाउन थप सहयोग गरेको छ ।
सरकारी समितिहरुमा(आर्थिक समिति लगायत)मा अनलाइन कारोबार प्रणालीमा कुनै समस्या छैन भनेर दाबी गर्ने नेप्सेले अनलाइनमा केही समस्या छन् भन्दै शुक्रबार विज्ञप्ति निकाल्नुपर्यो । जिम्मेवार ठाउँमा गएर समस्या नै छैन भन्नेहरुले नै ‘समस्या छ र त्यो समाधान हुन समय लाग्छ’ भन्दै विज्ञप्तिबाजी गर्दा यसको नकारात्मक प्रभाव लगानीकर्ताको मनोबलमा परिरहेको एक बजार विश्लेषक बताउँछन् । ‘अहिले बजार घट्नुको एउटा कारण नेप्सेको कमजोर नेतृत्व पनि हो ।’ ती विश्लेषकले नाम उल्लेख नगर्ने शर्तमा भने–‘बजार संचालकको कमान सम्हाल्नेहरु नै भरपर्दा नभएपछि, उनीहरुको बोलीमा टुंगो नभएपछि र बजार सुधारका बाधक तत्वहरुलाई प्रस्तुत गरी समाधानको उपाय खोज्नु भन्दा गल्ती कमजोरीलाई छोप्नतर्फ लागेपछि लगानीकर्ता बजारदेखि दिक्क भइसकेका छन् ।’
लगानीकर्ता विश्वस्त हुन नसकिरहेकै कारण र केही लगानीकर्ता आन्दोलनमा समेत रहेका कारण आइतबार बजार ५.७८ अंकले घट्यो । कारोबार रकम पनि यो दिन घट्यो ।
जलविद्युत समूह १ अंकले बढे पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो ।
बैंकिङ समूह ४.६५ अंकले घटेको यो दिन विकास बैंक, जीवन बिमा, निर्जीवन बिमा, माइक्रोफाइनान्स समूह क्रमशः १२.०२, ४३.१४, ५४.६९ र ८.८१ अंकले घटे ।
होटल समूहमा १९.०९ अंकको गिरावट आएको यो दिन बित्त समूहमा ०.३८ अंक, उत्पादनमूलकमा १३.६६ अंक र अन्य समूहमा १.४१ अंकको गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६६ कम्पनीका ८ लाख ३० हजार ६८ कित्ता सेयर २३ करोड २४ लाख १ हजार १३१ रुपैयाँमा किनबेच भयो ।
यो दिन आशा लघुवित्तले सबैभन्दा बढी १ करोड ५५ लाख बढीको कारोबार गर्यो । सिद्धार्थ बैंकको १ करोड ५ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नागरिक लगानीकोषले १ करोड ३ लाख, अपर तामाकोशीले ९८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ८४ लाख, एनएमबी बैंकले ७८ लाख, एनसीसी बैंकले ६७ लाख, चिलिमे हाइड्रोले ६४ लाख, ग्लोबल आइएमई बैंकले ५७ लाख र एभरेष्ट बैंकले ५७ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नागबेली लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ३.३९ अंकले बढ्यो । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको सेयर मूल्य ३.२१ अंकले बढ्यो ।
यो दिन युनिभर्सल पावर र शिवम् सिमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । दुवै कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago