काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले साउन १ गतेबाट २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने भनी गरेको निर्णयको नेकपा माओवादीले विरोध गर्दै फिर्ता लिन माग गरेको छ । 

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी संघर्षमा जाने चेतावनी दिइएको छ । 

‘नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ।’ महसुल वृद्धिबारे पार्टीको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमा भनिएको छ–‘यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसका विरुद्ध कडा संघर्षमा जाने विषय अवगत गराउँदछ ।’

प्राधिकरणले हालै घाटा र सेवा शुल्क कारण देखाई आगामी साउन १ गतेबाट लागू हुने गरी विद्युत् महसुलमा ११.२५ देखि २२.१५ प्रतिशतसम्म मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो । 

मूल्य वृद्धिमा निजी विद्युत् कम्पनीको स्वार्थ, विदेशी विद्युत् कम्पनीबाट महँगो मूल्यमा विद्युत् आयात गर्ने रणनीति, विद्युतको खरिदमा डलरको खेती र विद्युत् प्राधिकरण, विद्युत् महसुल निर्धारण आयोग तथा सम्बन्धित मन्त्रालयका सचिव एवम् सरकारको भ्रष्टाचार एवम् कमिसनको खेल खेल्ने उद्देश्य अन्तरनिहित भएको बताउँदै विज्ञप्तिमा विद्युत अधिकार जनताको आधारभूत आवश्यकताअन्तर्गत खानेपानी पछिको दोस्रो महत्वपूर्ण पक्ष हो भनिएको छ ।