काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५ मा करीब रु तीन अर्ब खुद नाफा गर्न सफल भएको छ । विद्युत् चुहावट नियन्त्रण तथा तथा संस्थागत सुधारमा ध्यान दिइएका कारण प्राधिकरणको नाफा बढेको हो । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा रु दुई अर्ब ८४ करोड ८१ लाख देखिएको हो ।
महालेखापरीक्षक कार्यालयले आज सार्वजनिक गरेको छपन्नौँ वार्षिक प्रतिवेदनानुसार प्राधिकरणको जगेडा तथा सञ्चित कोष रु २३ अर्ब ५९ करोड ७९ लाख ऋणात्मक छ । आव २०७२/७३ मा जगेडा तथा सञ्चित कोष रु २६ अर्ब ३३ करोड ४८ लाख ऋणात्मक थियो ।
गत वर्षको तुलनामा विद्युत् बिक्रीमा खुद नाफा र चालू सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कूल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको पाइएको छ । विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आव २०७४/७५ मा रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा रु दुई अर्ब ८४ करोड ८१ लाख देखिएको हो ।
विसं २०७३ भदौ मसान्तमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उहाँले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट विद्युत्भार कटौती अन्त्य मात्रै नगरी घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल हुनुभएको छ ।
घिसिङको नेतृत्वमा विद्युत् चुहावट नियन्त्रण तथा प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आव २०७३/७४ मा प्राधिकरणले रु एक अर्ब ४६ करोड ७३ लाख खुद नाफा कमाएको थियो । आव २०७४/७५ मा नाफा बढेर झण्डै रु तीन अर्ब पुगेको छ ।
विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरीद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, विद्युत्भार कटौती अन्त्य, वित्तीय पुनःसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो । प्राधिकरणको शेयर पूँजी रु एक खर्ब दुई अर्ब ४४ करोड, दीर्घकालीन दायित्व करीब रु एक खर्ब २० अर्ब ९५ करोड र चालू दायित्व करीब रु ८४ अर्ब ७८ करोड समेत कूल पूँजी तथा दायित्व रु दुई खर्ब ८४ अर्ब ५७ करोड २१ लाख छ ।