 
                     
                                Mahendra Lal Shrestha
 
                                    काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण उत्पादन सञ्चाल तथा संभार विभागका पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ८८ लाख ८२ हजार बढीको भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले सोमबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले सार्वजनिक सेवाको पदमा रहदा मर्यादा विपरीत कार्य गरी स्रोत पुष्टि हुन नसक्ने अकूत सम्पत्ति आर्जन गरेको दाबी गर्दै भ्रष्टाचार मुद्धा दायर गरिएको प्रष्ट्याएको हो ।
श्रेष्ठ नेपाल विद्युत प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको असिष्टेण्ट ईन्जिनियर पदमा मिति २०३६-१२-०५ गते नियुक्ति भई तहतह बढुवा सरुवा भई प्राधिकरणको, उत्पादन तथा सञ्चालन तथा संभार विभागको महाप्रबन्धक, र प्राधिकरणको कामु कार्यकारी निर्देशक भई २०७० साउन ९ गतेदेखि अनिवार्य अवकाश पाएका थिए ।
सो जाँच अवधिमा (आब २०३६/३७- ०६९/०७०) श्रेष्ठको आय व्ययको विवरण र आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका सम्वन्धमा तथ्य प्रमाणहरुलाई छानविन एवं विश्लेषण गरी हेर्दा उनले आय आर्जन गरेको वैध आयको तुलनामा रु।२,८८,८२,८९१) दुई करोड अठासी लाख बयासी हजार आठ सय एकानब्बे) बराबरको सम्पत्ति आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनी रुपबाट आर्जन गरेको देखिएकोले मुद्धा दायर गरिएको अख्तियारको दाबी छ ।
साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टी हुन आएको हुदा निजलाई बिगो रु.२,८८,८२,८९१/-( दुई करोड अठासी लाख बयासी हजार आठ सय एकानब्बे) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसारको जरिवाना र कैद सजाय हुन साथै निज नेपाल विद्युत प्राधिकरणको महाप्रबन्धक पदमा रही अवकाश प्राप्त गरेको हुदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४(क) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप कैद सजाय हुन मागदाबीसहित सोमबार नै विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरिएको बताइएको छ ।
श्रेष्ठले भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको, स्रोत नखुलेको चल अचल सम्पत्तिहरु निज र निजकी श्रीमती करुणादेवी कर्माचार्य श्रेष्ठ, छोरा कमलेन्द्र लाल श्रेष्ठ र छोरी प्रेरणा श्रेष्ठको नाममा बदनियत साथ राखेको तथा लुकाए छिपाएको पुष्टी हुन आएको हुदा त्यस्ता सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग) र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदपा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) बमोजिम जफत गर्ने मागदावी लिई सोही प्रयोजनका लागि माथि उल्लिखित निजको परिवारहरुलाई समेत प्रतिवादी कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19