काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी गरिएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका हुन्। चार वर्षे कार्यकाल सकिएपछि तत्कालीन सरकारले पुनर्नियुक्त नगरेका कारण घिसिङ प्राधिकरणबाट बाहिरिएका थिए। 

प्रधानमन्त्री देउवाको निर्देशनसँगै उर्जामन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन सुझाव दिएकी छन्। 

स्रोतका अनुसार राजीनामा नदिए शाक्यलाई स्पष्टीकरण सोध्ने तयारी पनि सरकारले गरेको छ। स्रोतले भन्यो, ‘यदि चित्तबुझ्दो जबाफ नआए शाक्यलाई सरकारले हटाउन सक्छ।’  

अघिल्लो कार्यकालमा घिसिङ मुलुकलाई लोडसेडिङमुक्त बनाएकै कारण चर्चित बनेका थिए। उनले लामो समय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए।