काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसबारे मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जानकारी गराइसकेको छ। मन्त्रालयले आज घिसिङलाई नियुक्तिपत्र दिनेछ। 

गत वर्ष २०७७ भदौमा ४ वर्षे कार्यकाल पुरा गरेर घिसिङ विद्युत प्राधिकरणबाट बिदा भएका थिए। घिसिङले नेपालमा लोडसेडिङ हटाएर चर्चा बटुलेका थिए। 

यसअघि ऊर्जामन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन्। सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्णकालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ।