काठमाण्डौ । आन्तरिक राजस्व विभागमा पेस गरिएको आय विवरणमा गल्ती भएमा संशोधन गर्न सकिनेछ। 

कुनै व्यक्तिले विभागमा म्यादभित्र पेस गरेको आय विवरण अन्यथा भई संशोधन गर्न चाहेमा विवरण पेस गरेको मितिले ३० दिनभित्र विभागले तोकेको प्रक्रियाबमोजिम आय विवरण संशोधन गर्न सकिन्छ। 

यसरी उक्त म्यादभित्र दाखिला भएको आय विवरण र सोसँग सम्बन्धित अनुसूचीहरुमा मात्र संशोधन गर्न पाइन्छ। 

एकपटक लेखापरीक्षक तथा करदाता स्वयंले प्रमाणित गरी पेस गरेको वित्तीय विवरण भने सो व्यवस्थाअन्तर्गत संशोधन हुन सक्दैन। 

वित्तीय विवरण पेस गर्नु अनिवार्य नभएको पूर्वानुमानित तथा कारोबारमा आधारित कर तिर्नुपर्ने करदाताहरुको हकमा खरिद–बिक्री विवरणअनुसार कारोबार फरक पर्न गएमा तोकिएको म्यादभित्र दाखिला भएको आय विवरण करदाताले चाहेमा यस व्यवस्थाअन्तर्गत करदाता स्वयंले संशोधन गर्न पाउनेछन्।