– भक्तराज रसाइली
काठमाण्डौ । सेयर बजारमा युवा क्रेज दिनानुदिन बढ्दै गएको छ। लहडैलहडमा सेयर बजारमा पैसा कमाइन्छ भन्ने मान्यताले समेत हिजोआज जोसुकैको आकर्षणको उच्च केन्द्रविन्दुमा सेयर बजार परेको छ।
जुनसुकै विषय अध्ययन गरेका हुन् वा जुनसुकै पेसा–व्यवसायमा आबद्धता जनाएकाहरुले समेत सेयर बजारमा लगानी गर्दै आइरहेका छन्। आज हामी सुदूरपूर्व मोरङ जिल्लाको सुन्दर हरैँचा–१० का एक इन्जिनियर जो सेयर बजारमा कुस्त कमाइरहेका छन्, उनकै संघर्ष, अनुभव र सफलताको कथालाई प्रस्तुत गर्दैछौँ।
रोहन कार्की पेसाले इन्जिनियर तर सेयर बजारमा उदाएका युवा लगानीकर्ता पनि हुन्। कार्कीले सिभिल इन्जियिरिङमा स्नातक गरेका छन्। हाल भोजपुरमा हिमालयन इन्जियरिङ कन्सलटेन्सीका प्रोप्राइटर तथा एमडी कार्की बैंकको प्रोपर्टी भ्यालूएसन, रोड, पुल र बिल्डिङ डिजाइनसम्बन्धी कार्य गर्छन्।
इन्जिनियर कार्की सेयर बजारमा एक त्यस्तापात्र हुन्, जो नेप्सेको अलटाइम हाईबाट झर्दै गरेको वियरिस ट्रेन्डमा ठूलो रकम डुबाइसकेपछि हाल सफल इन्भेस्टरका रुपमा दरिन्छन्। आईपीओ भर्यो भने फाइदा हुन्छ सेयरबाट भन्ने हल्लाकै भरमा कार्कीले २०७१ सालताका सनराइज बैंकको आईपीओमा ५० हजार रुपैयाँ आवेदन गर्दा ३० कित्ता हाता लागेपछिको यात्रा आज पनि निरन्तर छ।
दोस्रो बजारमा भने कार्कीको यात्रा २०७३ सालतिर नेप्से १७ सय विन्दु हुँदा भएको रहेछ। भोजपुरकै एक कर्मचारी साथीबाट दोस्रो बजारमा प्रवेश गर्ने सल्लाह पाएपछि उनले त्यो समयमा कृषि विकास बैंक प्रतिकित्ता ४७० मा खरिद गरेपछि छोटो समयमै ५१७ प्रतिकित्तामा बेच्न भ्याए। कर्णाली विकास बैंक प्रतिकित्ता ४०० हाराहारीमा किनेर ६०० रुपैयाँ प्रतिकित्तामा बेच्न पनि उनले भ्याएछन्।
छोटो समयमा नाफा भएको देखेरै कार्की लोभिँदै गए। लोभले सेयर लगानी पनि बढाउँदै लगेका उनले सस्तोमा घाटा हुन्न भनेर सस्ता बैंक र फाइनान्स कम्पनी किनेको सुनाए।
नेप्से १७ सय विन्दुबाट ११ सय विन्दु झर्दासम्म पनि होल्ड नै गर्न सकेका कार्कीले निकै राम्रो घाटा खाएको तीतो अनुभव हामीसामु साटे। ब्याजबाहेक मात्र करिब ५० प्रतिशत सम्पत्ति डुबाएका उनले बजारको नामसमेत १ वर्ष नसुनेको बताए।
नेप्से १३ सयबाट ११ सय विन्दु आउँदा बेस्सरी अध्ययन गर्ने चेत खुलेछ। सुरुमा दोस्रो बजारमा उनले १–२ लाख रुपैयाँ लगानी गरे अनि नेप्से जब १६ सय विन्दु झर्यो थप १५ लाख रुपैयाँ पनि लगानी थपे। नेप्से घट्दै गयो उनले नेप्से १५ सय विन्दु झर्दा पनि थप १० लाख रुपैयाँ लगानी बढाउँदै लगे। बजारको ट्रेन्ड र जानकारी नलिइकन सेयर बजारको चक्रबारे पनि जानकार नभई लगानी गर्दा आफू चक्रब्यूहमा फसेको उनले विगत कोट्याए। ‘वियरिस ट्रेन्ड थाहा भएको भए स्टक लस गरिन्थ्यो होला’, उनले मलिन स्वरमा भने, ‘चोट र हन्डर खाएपछि अध्ययन गर्नुपर्ने रहेछ भनेर चेत खुल्यो।’
सेयर लगानीको चक्रब्यूहमा फसेको दाबी गरेका इन्जिनियर कार्कीले एउटा जग्गासमेत गुमाएछन्। ‘तनाव हुँदै गयो त्यसपछि मैले १ वर्ष त जिरो इन्भेस्टमेन्ट गरेँ। अनि २ वर्ष सेयर बजारका विषयमा ननस्टप अध्ययन, कम्पनी विश्लेषण इत्यादिमा दिनहरु बिते’, कार्कीले भने, ‘अध्ययन गरेपछि आत्मविश्वास बढ्दो रहेछ, नेप्से ११ सय विन्दु आएपछि मैले बैंकबाट थप ऋण लिई पहिलेको भन्दा लगानी दोब्बर बनाएँ।’
अध्ययन गरेपछि नेप्सेको तल्लो विन्दुसमेत पत्ता लगाई सेयर लगानी बढाएका कार्कीले त्यसपछि भने पछाडि फर्केर हेर्नु नपरेको जिकिर गर्छन्। ‘एकाध कम्पनीबाहेक अन्य स्टकमा म आजसम्म फेल खाएको छैन’, उनले दाबीसमेत गरे।
घट्दो बजारमा प्रवेश गरी कार्की सेयर बजारमा फेल भए तर ठेस लागेपछि नै सेयर बजारबारे थप जिज्ञासा र कौतुहलता बाक्लिँदै गएको बताउँछन्। ‘सेयर बजारको नशा चढ्दै गयो मज्जा पनि लाग्दै गयो अनि मलाई सेयर बजारको गहिराइमा डुबुल्की मार्न मन लाग्यो’, कार्कीले भने।
हिजोआज पनि सेयर बजारमा प्रवेशका लागि बेला नगएको कार्की दाबी गर्छन्। कोरोनाले नेप्सेमा सूचीकृत कम्पनीहरुमा एकदमै छोटो समयका लागि असर परे पनि दीर्घकालीन असर नपर्ने उनको जिकिर छ। सेयर बजारमा अहिले नै छिर्न चाहिँ किन उपयुक्त छ नि भन्ने जिज्ञासामा हाल बजारको माग उच्च रहेको, सक्रिय लगानीकर्ता १० गुणाले बढेको र अनलाइन कारोबार प्रणालीले समेत बिनाझन्झट सजिलै सेयर कारोबार गर्न मिल्ने भएकाले बजारको रौनक र उत्साह अब झन् बढ्दै जाने उनको ठहर छ। अन्यत्र लगानी असुरक्षित भइरहेको र मुद्दति खाताको ब्याजदरसमेत कटौती भइरहेकाले सेयर बजारमैत्री वातावरण सिर्जना भइरहेको उनको ठहर छ।
वियरिस बजारको प्रवेशमा कार्कीलाई भारी पर्यो तर लहलहै र अध्ययन बिना सेयर बजारमा कमाउन असम्भव रहेको उनी जिकिर गर्छन्। विशेषगरी आधारभूत पक्षमा ध्यान दिइनुपर्ने उनको ठहर छ।
सेयर बजारमा आफूले डुबाएको लगानी भने रिकभर भइसकेको र हाल सम्पत्तिसमेत डबल कमाइसकेको कार्की बताउँछन्। सेयर किनबेचका दौरान उनले सबैभन्दा धेरै नाफा कमाएका स्क्रिप्टहरु भने डिप्रोक्स लघुवित्त, फर्वाड लघुवित्त र हिमालयन डिस्टिलरी रहेछ। डिप्रोक्स ७०० रुपैयाँ प्रतिकित्ता किनेका उनले बोनस ४५ प्रतिशत लिएर हाल यसको मूल्य १४ सय हाराहारी पुगेको बताए। यस्तै फर्वाड लघुवित्त चाहिँ १२ सय प्रतिकित्तामा खरिद गरी ४५ प्रतिशत बोनस लिएर पनि हाल यसको मूल्य २३ सय आसपास छ भने हिमालयन डिस्टिलरीको सेयर चाहिँ उनले १५ सय प्रतिकित्तामा किनेर सतप्रतिशत बोनस सेयर लिएर पनि यसको मूल्य हाल ४४ सय हाराहारी पुगेको छ।
सेयर बजारको ४ वर्षे यात्रामा उनले नाफामात्रै कमाएनन् ठूलो घाटाहरु समेत व्यहोरे। जनता बैंक प्रतिकित्ता ३८० रुपैयाँमा किनेर १८० रुपैयाँमा घाटा पनि व्यहोरेका रहेछन्। यस्तै सिनर्जी फाइनान्स प्रतिकित्ता रु.१७५ मा खरिद गरी ९२ रुपैयाँ प्रतिकित्तामा ठूलो घाटा खाएको पनि उनले सुनाए।
एकातिर इन्जिनियर अर्कातिर सेयर लगानीकर्ता कतै २ वटा डुंगामा खुट्टा त भएन भन्ने हाम्रो प्रश्नमा कार्की दिनभर अफिसियल काम गरे पनि दैनिक साँझ सेयर बजारका विषयमा अध्ययन गर्ने बताए। बजारको रिभ्यू, न्यूज, बजार, फ्लोरसिटजस्ता आधारभूत पक्षलाई निकै मिहीन ढंगले अध्ययन गरेपछि मात्रै सेयर बजारमा लगानी गर्ने गरेको उनी बताउँछन्। जागिरभन्दा सेयर बजारमा नै असीमित कमाइ रहेको उनको भनाइ छ।
बजार जीवनभर नछोड्ने दाबी गर्दै कार्की जागिरभन्दा सेयर बजारकै कमाइ मनग्यै हुने बताउँछन्। अहिले आफूले गरेको कमाइसमेत सेयरमै लगानी गरिरहेका उनले सेयरको कमाइले चाहिँ हालसालै घरजग्गा जोड्ने सोच नभएको बरु बैंकबाट ऋण काढेरै लगानी बढाइरहेको उनले जिकिर गरे।
आफूले सेयर किनिसकेपछि फेसबुक ग्रुपहरुमा प्रचार गर्ने र समूहलाई प्रचार गराई सेयर भिडाउने प्रवृत्ति पछिल्लो समय विकृतिका रुपमा फैलिरहेको कार्की बताउँछन्। ‘ग्रुप बनाउने अनि सुरुमा आफूले सेयर किनिसकेपछि उक्त कम्पनीका विषयमा सोही ग्रुपमा आवद्धहरुलाई नै सेयर भिडाउने चलन सेयर बजारमा हुने गर्छ’, कार्कीले भने, ‘फेसबुकका ग्रुपलाई विश्वास गर्ने र ट्रेन्डमा लगानी अन्धाधुन्ध गर्दा सेयरबाट अवश्य डुबिन्छ। खोलामा हामफाल्दा आफैँ लठ्ठीले गहिराइ नाप्नुपर्छ।’
आधारभूत पक्षलाई अध्ययन गरिगरेको सेयर लगानीमात्रै सुरक्षित हुने र मीठो निन्द्रा लाग्ने कार्की सुनाउँछन्। बैंकबाट आक्रमक रुपमा ऋणसमेत लिई सेयर लगानी गरिरहेका उनी राम्रो स्टकमा लगानी गरेकाले ऋण परेपनि मज्जा लिइरहेको अनि मीठो निन्द्रा लागिरहेको खुसी हुँदै सुनाउँछन्। कम्पनीका लाभांश इतिहास, गुडविल, ब्रान्डजस्ता विषयमा सचेत भई गरेको लगानी सुरक्षित हुने तर कम्पनीको आधारभूत पक्ष भने बलिया कम्पनी छनोट गर्न उनले सुझाए।
सेयर बजारको छोटो समय ४ वर्षको अनुभवका आधारमा कार्कीले अध्ययन भए पैसा लगानी सुरक्षित हुने तर सानो गल्ती भए गुम्ने क्षेत्र पनि भएको बताए। कम्पनी छनोट, ट्रेन्ड विश्लेषणलाई समेत निकै सूक्ष्म ढंगले हेर्नुपर्ने उनले सुझाए। कम्पनीको सेयरमूल्य साइडवेजमा गएको बेला किन्नुका साटो सर्किट लागेपछि सेयर किन्ने गलत अभ्यास रहेको उनी बताउँछन्। राम्रो र बढ्ने कम्पनी ढिलो बढ्ने गरेको उनको बुझाइ छ। ‘इन्डेक्सलाई हेरेरभन्दा पनि म चाहिँ कम्पनीको फन्डामेन्टल हेर्नुपर्छ नै भन्छु’, उनले भने।
विश्वमा नै सेयर बजारलाई निकै ग्ल्यामरस मानिन्छ। यही ग्ल्यामरसकै कारणसमेत कार्कीजस्ता इन्जिनियर पेसा अँगाल्दै आइरहेका युवाहरुको समेत सेयर बजार आकर्षणको उच्च विन्दु हुँदै गइरहेको छ। यसै पनि युवा समूहलाई चञ्चल उमेर मानिन्छ तर सेयर बजारमा चञ्चल नभई सेयर बजार र कम्पनीको आधारभूत पक्षलाई राम्रोसँग अध्ययन गरे लोभलाग्दो कमाइ हुने कुराको पुष्टि कार्कीजस्ता युवा सेयर लगानीकर्ताले गरेका छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19