काठमाण्डौ । अब विराटनगरको सब्जी, फलफूल तथा गुद्री बजारमा एनएमबि बैंकको क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने भएको छ। 

नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बैंकले सञ्चालनमा ल्याएको क्यूआर कोडको शुक्रबार एक कार्यक्रमबीच प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुभारम्भ गरेका छन्। गर्भनर अधिकारीले नगद कमभन्दा कम प्रयोग गर्न आह्वान गर्दै क्यूआर कोड प्रयोग गरी कागती खरिद गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए। 

कार्यक्रम एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको सभापतित्व सम्पन्न भएको थियो। ‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरूप डिजिटलाइजेसनको तर्फ केन्द्रित रही नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ। वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौँ’, प्रमुख कार्यकारी अधिकृत केसीले भने। 

कार्यक्रममा अतिथिहरु नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नेफिल मतांगी मास्के, नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिना, सब्जी फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगत, युवा उद्यमी प्रदीपकुमार मुरारका, विराटनगर वडा नं. ११ का अध्यक्ष त्रिथेन्द्र न्योपाने, उक्त बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेवलगायत स्थानीय निकायका पदाधिकारी, सुरक्षा निकाय, स्थानीय क्लबका सदस्य, स्थानीय कृषि ब्यवसायीको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषी देवी भगतलाई रु. १० लाख महिला उद्यमी सहुलियत कर्जाको स्वीकृतिपत्र प्रदान गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पारेका थिए। कार्यक्रममा उक्त बजार व्यवस्थापन समितिका तर्फबाट सचिव गुड्डु साहेबले मन्तव्य राखेका थिए। 

बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ। उक्त परियोजनाको अभिन्न अंगका रुपमा नगदरहित कारोबार प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ।