काठमाण्डौ । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ दर्ता प्रमाणपत्रका लागि लिएको विशेष चिकित्सक दर्ता परीक्षामा करिब ३० प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । अनुत्तीर्ण हुनेमा चीन र फिलिपिन्सबाट पढेकाहरू बढी छन् । चिकित्सा शिक्षामा आधारभूत शैक्षिक कार्यक्रम पूरा गरेपछि एमडी/एमएस/एमडीएसमा तीनवर्षे विशेषज्ञता हासिल गरेका ४ सय ९६ चिकित्सकहरूमध्ये करिब ३० प्रतिशतले परीक्षामा आफ्नो क्षमता सिद्घ गर्न नसकेका हुन् ।
‘विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा भाग लिएकामध्ये १ सय ४५ जना फेल भएका छन्,’ काउन्सिलका रजिस्टार डा. दिलीप शर्माले कान्तिपुरसँग भने । यो परीक्षा पास गरेपछि मात्र विशेषज्ञ चिकित्सकका रूपमा काम गर्न पाइन्छ । विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा ‘प्रयोगात्मक परीक्षा’ पनि समावेश गर्ने हो भने अनुत्तीर्ण हुनेको संख्या अरू बढ्ने काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाले बताए । ‘गुणस्तरहीन चिकित्सकलाई नेपाली स्वास्थ्य बजारमा प्रवेश गर्न रोक्न नसकिए भविष्यमा स्वास्थ्य उपचारसम्बन्धी भयावह स्थिति उत्पन्न हुन सक्छ,’ उनी भन्छन् ।
काउन्सिलले निकट भविष्यमा विशेषज्ञ दर्ता परीक्षामा प्रयोगात्मक परीक्षासमेत समावेश गर्ने जनाएको छ । काउन्सिल स्रोतका अनुसार गत वर्ष ७३ जनाले रेडियोलजी विषयको विशेषज्ञ परीक्षा दिएकोमा १३ जना मात्र उत्तीर्ण भएका थिए । गत वर्ष पनि अनुत्तीर्ण हुनेमा चीन, फिलिपिन्सलगायतबाट पढेका चिकित्सक बढी थिए । एमडी/एमएस/एमडीएसको विशेषज्ञता हासिल गरेर मुलुकमा आएको एक वर्षसम्म चिकित्सकका रूपमा काम गर्न पाइन्छ । तर, विशेषज्ञ बन्नका लागि एक वर्षभित्र परीक्षा उत्तीर्ण गर्नुपर्छ । विशेषज्ञता प्राप्त गरेको एक वर्षसम्ममा दर्ता परीक्षा पास नगरे विज्ञका रूपमा काम गर्न नपाइने प्रावधान छ ।
विशेष चिकित्सक दर्ता परीक्षा पास नभई विशेषज्ञका रूपमा काम गर्नेहरूविरुद्घ काउन्सिलमा उजुरी पनि परेका छन् । ‘त्यस्तालाई कानुनअनुसार कारबाही हुन्छ,’ डा. शर्मा भन्छन्, ‘परिमार्जन गर्न लागिएको काउन्सिलको ऐन र आचारसंहितामा यस्तो काम गर्दा दर्ता खारेज गर्नेसम्मको प्रावधान छ ।’ करिब १९ हजार चिकित्सक काउन्सिलमा दर्ता छन् । यसमध्ये करिब ६ हजार विशेषज्ञ चिकित्सकका रूपमा दर्ता छन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago