काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षा योजनालाई सरकारले विशेष अभियानका रुपमा अगाडि बढाइएको बताएका छन्। 

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको आज शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले यस्तो सामाजिक सुरक्षा योजनालाई विशेष प्राथमिकताका साथ अभियानका रुपमा अघि बढाइएको बताएका हुन्। ‘सामाजिक सुरक्षा कोषको संयन्त्र समाजका उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिकलगायतका वर्गको संरक्षणका लागि महत्वपूर्ण संयन्त्र हो’, उनले भने, ‘श्रमिकको पेसा र श्रमको सम्मान स्थापित गर्ने यो सामाजिक सुरक्षाको संयन्त्रमा आन्तरिक उत्पादन चक्रलाई नै सक्रिय बनाई समग्र उत्पादकत्व अभिवृद्धि गराउन सक्ने क्षमता हुन्छ भने अर्कोतिर यस्तो कोषमा श्रमिकको भरोसाका आधारहरु लुकेका हुन्छन्।’

अनौपचारिक क्षेत्र खासगरी कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकले हात पाखुरा चल्दासम्म श्रम गर्ने र शारीरिक अशक्तता भएको खण्डमा आँसु चुहाउँदै रित्तो हात घर फर्किनुपर्ने नियतीमा यो अभियानले ‘ब्रेक थ्रु’ गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे। 

औपचारिक क्षेत्रका निजी संगठित संस्थाबाट सुरु हुँदै वैदेशिक रोजगारका क्षेत्रमा समेत सफल कार्यान्वयन भइसकेको सामाजिक सुरक्षा अभियानको योजनामा आजदेखि अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिसमेत जोडिन पुगेको दाहालले बताए। ‘त्यसैले आजको यो शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुने छैनन् भन्ने सन्देश दिएको छ’, उनले भने, ‘त्यसअर्थमा आजको दिनलाई श्रमिक अधिकार स्थापनाको एउटा महत्वपूर्ण ऐतिहासिक दिनका रुपमा लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।’

प्रधानमन्त्री दाहालले यो योजनाअन्तर्गत अनौपचारिक क्षेत्रमा ४० लाखभन्दा बढी संख्याको हाराहारीमा रहेका सबै श्रमिक मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागी बनाइने पनि बताए।