– अर्जुन तिमिल्सिना

काठमाण्डौ । अहिले विश्वका खेलप्रेमीहरुको ध्यान विश्वकप फुटबल प्रतियोगितामा तानिएको छ। 

गत मंसिर ४ गतेबाट विश्वकप फुटबल प्रतियोगिताका खेलहरु कतारमा सुरु भइसकेका छन्। विश्वकपले विश्वभर महौल तताएको छ। 

नेपालका खेलप्रेमीहरु पनि विश्वकप फुटबल प्रतियोगितालाई नछुटाइकन हेरिरहेका छन्। 

यता सेयर बजारका केही ब्रोकरहरु विश्वकपका खेल हेर्नकै लागि कतार पुगिसकेका छन्। ब्रोकर हाउसदेखि क्लब हाउसहरुसम्म हिजोआज लगानीकर्ताहरुबीच फुटबलकै चर्चा चलिरहेकोे सुनिन्छ। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष सन्तोष मैनालीलाई फुटबल खेल सानैदेखि खेल्न मन पर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु हेर्न रुचि रहेछ। ‘मलाई फुटबलसँगै ब्याडमिन्टन खेल्न मन पर्छ’, मैनालीले भने, ‘क्रिकेटमा पनि रुचि छ।’

अहिले भइरहेको विश्वकप फुटबलमा मैनाली पोर्चुगलको समर्थक हुन् । क्रिस्टियानो रोनाल्डो उनलाई निकै मन पर्ने खेलाडी हुन् । फुटबल खेल कम समयको हुने भएकोले हेर्न मन लाग्ने उनी बताउँछन्। 

मैनालीको विचारमा अहिले खेल कतारमा भएका कारण पनि नेपालीलाई समयानुकूल भएको छ। यसअघिको विश्वकप फुटबलका खेलहरु प्रतिकूल समय भएकोले त्यति धेरै उत्साह नदेखिएको उनको अनुभव छ। 

अहिले नेपालबाट हुने खेल प्रसारणमा क्वालिटी राम्रो नआएकोमा भने मैनालीले गुनासो गरे। ‘भर्खरै खेल सुरु हुँदै गरेकोले होला प्रसारणमा क्वालिटीमा राम्रो आएको छैन’, उनले भने, ‘प्रसारण राम्रो भएमा उल्लासमय हुने थियो।’