काठमाण्डौ। कोरोनाभाइरसका विषयमा दिइएका जानकारीलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई विश्वका थुप्रै देशले सन्देहको दृष्टि हेर्न थालेका छन्।

यो महामारीसँग जोडिएका आँकडा र सूचनाहरुका विषयमा डब्ल्यूएचओद्वारा जारी गरिने जानकारीलाई लिएर अस्ट्रेलिया र युरोपेली संघबाट स्वतन्त्र जाँचको माग आएको छ। जेनेभामा आज (मे १८) बाट सुरु हुने हुने दुईदिने ७३ औँ विश्व स्वास्थ्य सभाको बैठकमा डब्ल्यूएचओबाट दिइने जानकारी सही छ वा छैन भन्ने विषयमा स्वतन्त्र जाँचको प्रस्ताव दर्ता हुने बताइएको छ।

यो प्रस्तावमा विश्वका ६२ देशहरुले अस्ट्रेलिया र युरोपेली संघको संयुुक्त प्रयासको समर्थन गरेका छन्। प्रस्तावमा यो भाइरसको महामारीका क्रममा डब्ल्यूएचओको कामकाज निष्पक्ष, स्वतन्त्र, व्यापक र चरणबद्ध समीक्षा गरिनुपर्ने माग गरिएको छ। यो प्रस्तावको मस्यौदा अस्ट्रेलियाले तयार गरेको हो।

प्रस्तावमा जापान, बेलायत, क्यानडा, न्युजिल्यान्ड, दक्षिण कोरिया, टर्की, रुस, इन्डोनेसिया, मेक्सिको, ब्राजिल, भारतसहित युरोपका सबै देशहरुले समर्थन गरेका छन्। 

यस प्रस्तावमा कोरोनाभाइरसका कारण अहिले विश्वभरका देशहरु संकटमा परेका कारण डब्ल्यूएचओमाथि निष्पक्ष, स्वतन्त्र र व्यापक जाँचको माग गरिएको छ। यो प्रस्ताव चीन र भाइरस पहिलोपटक देखिएको वुहान सहरका विषयमा कुनै कुरा उठाइएको छैन। – एजेन्सी