काठमाण्डौ । संसारको सबैभन्दा ठूलो तेल कम्पनी ‘साउदी अरामको’ ले प्राथमिक सार्वजनिक निष्कासन (र्आइपीओ) जारी गर्ने भएको छ ।

यो कम्पनी साउदी टाडाउल एक्सचेन्जमा पहिलोपटक आउँदो डिसेम्बर ११ मा लिस्टेड हुँदैछ । यसअघि कम्पनीले नोभेम्बर १७ को दिन आईपीओ निष्कासनका बारेमा जानकारी दिनेछ ।

आईपीओका माध्यमबाट साउदी अरबको विशाल पेट्रालियम कम्पनीले आफ्नो ५ प्रतिशत हिस्सेदारी बिक्री गर्नेछ र यो बिक्रीबाट १०० अर्ब डलर हासिल गर्ने लक्ष्य राखेको छ ।

साउदी अरबको अल अरबिया टेलिभिजनका अनुसार नोभेम्बर ३ का दिन साउदी एक्सेन्जले यो आईपीओका लागि सम्पूर्ण कार्यक्रमको घोषणा गर्नेछ । त्यसपछि नोभेम्बर १७ मा सेयरमूल्यको घोषणा गर्नेछ।

यो आईपीओको रजिस्ट्रेसन डिसेम्बर ४ बाट सुरु हुनेछ । यो दिनबाट लगानीकर्ताले कम्पनीको सेयर खरिदका लागी आवेदन दिन सक्नेछन्। त्यसपछि कम्पनीको सेयरलाई साउदी टाडाउल एक्सेन्जमा डिसेम्बर ११ बाट खरिदका लागि उपलब्ध गराइनेछ ।

यो कम्पनीको सेयरलाई सेयरबजारमा सूचीकृत गर्नुको पछाडि साउदी राजकुमार मोहद बिन सलमानको सुधार योजना मुख्य कारण रहेको बताइएको छ । सुधार योजनाअनुसार साउदीको अर्थव्यवस्थामा तेलको परनिर्भता कम गर्दै लाने रणनीति रहेको छ । 

राजकुमार सलमानले सन् २०१६ मा पहिलोपटक यो कम्पनीको आईपीओ जारी हुने जानकारी गराएका थिए ।

साउदी अरामको संसारकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी हो । यहाँ दैनिक १० मिलियन ब्यारल कच्चा तेल उत्पादन गरिन्छ । जसको कमाइ ३ लाख ५६ हजार मिलियन डलर रहेको छ । यो कम्पनीले एक मिनेटमै नेरु २४ करोड कमाइ गर्छ ।

ब्लुमवर्गको एउटा रिपोर्टअनुसार सन् २०१८ मा अरामकोले १११ अर्ब डलर नाफा कमाएको थियो । जुन एप्पल र गुगलजस्ता ठूला कम्पनीको कमाइभन्दा पनि बढी हो । – एजेन्सी