काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट शुक्रबार बिहानसम्म विश्वभर ५२ हजारभन्दा बढी मानिसको ज्यान गएको छ। संक्रमितको संख्या १० लाखभन्दा बढी भएको छ।

जोन हाप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना संक्रमितको संख्याको एक चौथाइ अमेरिकामा रहेका छन् भने एक चौथाइ संख्या स्पेन र इटलीमा रहेका छन्। विगत एक साताको अवधिमा विश्वभर संक्रमितको संख्या दोब्बर भएको छ। 

जोन हाप्किन्स युनिभर्सिटीका अनुसार अहिले यो भाइरसको चपेटामा विश्वका करिब २०० मुलुक परिसकेका छन्। 

स्पेनमा बितेको २४ घन्टाको अवधिमा सबैभन्दा बढी ९५० जनाको ज्यान गएको छ। योसँगै यो भाइरसबाट ज्यान गुमाउनको संख्या १० हजारभन्दा बढी पुगेको छ। त्यहाँ संक्रमितको संख्या १ लाख १० हजारभन्दा बढी छ।

इटालीमा भने कोरोनाबाट सबैभन्दा बढी १३ हजार ९०० जनाभन्दा बढीको ज्यान गएको छ। इटालीमा पनि संक्रमितको संख्या १ लाख १० हजारभन्दा धेरै नै छ।

यो भाइरसले अमेरिकामा ५ हजार १०० जनाभन्दा ज्यान लिएको छ। जब कि संक्रमितको संख्या २ लाख १६ हजारभन्दा बढी देखिएको छ। 

यो भाइरसको सुरुआत भएको चीनमा भने हालसम्म ३ हजार ३०० भन्दा बढीको ज्यान गएको छ भने संक्रमतिको संख्या ८२ हजार ४०० पुगेको छ। – एजेन्सी