काठमाण्डौ । महामारीको रुप लिएको कोरोनाभाइरसले विश्वभर सोमबार बिहानसम्म ४१ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये २ लाख ८२ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने १४ लाख बढी निको भएर घर फर्किसकेका छन्।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म ४१ लाख १ हजार ७०० जना कोरोबाट संक्रमित भएका छन्। तीमध्ये २ लाख ८२ हजार ७०९ जनाको ज्यान गइसकेको छ १४ लाख ८ हजार ९८० जना निको भएका छन्।

चीनको वुहान सहरबाट फैलिएको भनिएको यो भाइरसबाट हालसम्म अमेरिकामा सबैभन्दा बढी १३ लाख २९ हजार २६० जना संक्रमित भइसकेका छन्। तीमध्ये ७९ हजार ५२६ जनाको ज्यान गइसकेको छ भने २ लाख १६ हजार १६९ जनाले स्वास्थ्यलाभ गरेका छन्। 

उता स्पेनमा २ लाख २४ हजार ३५० जना संक्रमितमध्ये २६ हजार ६२१ जनाको ज्यान गइसकेको छ भने १ लाख ३६ हजार १६६ जना निको भएका छन्।

यसैगरी बेलायतमा हालसम्म २ लाख २० हजार ४४९ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३१ हजार ९३० जनाको मृत्यु भएको छ भने जम्मा १ हजार २ जनामात्र उपचारपछि ठिक भएका छन्।

इटाली र रुसमा पनि क्रमशः यो भाइरसबाट २ लाख १९ हजार ७० जना र २ लाख ९ हजार ६८८ जना संक्रमित भएका छन्। तीमध्ये इटालीमा ३० हजार ५६० र रुसमा १ हजार ९१५ जनाको मृत्यु भएको छ। इटालीमा १ लाख ५ हजार १८६ जना निको भएका छन् भने रुसमा ३४ हजार ३०६ जनाले स्वास्थ्यलाभ गरेका छन्। – एजेन्सी