काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा विश्वभर कोरोनाभाइरसबाट १ लाख ६ हजार बढी मानिस संक्रमित भएका छन्। एकैदिन कोरोनाबाट संक्रमित हुने संख्या हालसम्मकै उच्च हो। 

विश्वभर संक्रमितको संख्या बिहीबार बिहानसम्म ४९ लाख ९५ हजार बढी पुगेको छ। तीमध्ये ३ लाख २८ हजार बढीको ज्यान गइसकेको छ भने १८ लाख ९७ हजार बढी निको भइरकेका छन्।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का निर्देशक टेड्रोस एडहोनम गिब्रिएसुसले यो महामारीबाट छिटै छुटकारा पाउन सम्भव नरहेको बताएका छन्। जेनेभामा निर्देशक ट्रेडोसले यस्तो अभिव्यक्ति देखिएका हुन्।

ट्रेडोसले यो महामारी अहिले गरिब मुलुकहरुमा तीव्रगतिमा फैलिरहेकोमा चिन्ता पनि व्यक्त गरेका छन्। ‘एकातिर धनी मुलुकहरु कोरोना रोकथामका लागि जारी लकडाउनको स्थितिबाट बाहिर निस्किन चाहिरहेका छन्’, उनले भने, ‘अर्कोतिर गरिब मुलुकहरुमा यो भाइरस केही दिनयता तीव्रगतिमा फैलिरहेको छ।’

उता युरोपियन संघको एजेन्सी युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलकी निर्देशक डा एन्ड्रिया अम्मोनले युरोप कोरोनाको दोस्रो लहरका लागि तयार रहनुपर्ने अवस्था आएको बताएकी छन्। ‘मलाई लाग्छ कि अब एउटैमात्र प्रश्न बाँकी छ कि यो दोस्रो लहर कहिलेदेखि सुरु हन्छ र कति घातक हुन्छ’, उनले भने। 

लामो लकडाउनपछि युरोपका केही देशहरु अब आफ्नो अर्थव्यवस्थामा ध्यान दिइरहेका छन् र मानिसहरुमा लगाइएको थुप्रै प्रतिबन्धहरु खुकुलो पारिरहेका छन्।– एजेन्सी