काठमाण्डौ । विश्वभर आजबाट रमजानको महिना सुरु भएको छ। यो वर्ष रमजानमा विश्वभर १.८ अर्ब मुसलमानका लागि निकै फरक अनुभव हुँदैछ।

कोरोनाभाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देश लकडाउनमा छन्। सामाजिक दूरी र एकसाथ थुप्रै मानिसको भीडभाडमा पनि रोक लगाइएको छ। 

विश्वमा धेरैजो इस्लामिक देशहरुमा लकडाउनमा छन्। तर जहाँ इस्लामिक समूहको दबदबा छ त्यहाँ रमजानका क्रममा मस्जिद खुला गरिएको छ। ती मस्जिदमा एक साथ थुप्रै मानिस नमाज पढिरहेका छन्। 

केही देशमा भने रोजा खुल्नुअघि नै कफ्र्यु आदेश जारी गरिएको छ। रोजा खोल्दा मानिसहरु समूहमा खान्छन् र यसलाई रोक्न आवश्यक देखिएकोले कफ्र्यु लगाउनुपरेको हो। 

बीबीसीका अनुसार पाकिस्तान र इन्डोनेसियामा मस्जिद खुला राखिएको खबर प्राप्त भएको छ। पाकिस्तानका चिकित्सकहरुले भने यस्तो महामारीमा मस्जिद खुला राखिनु दुर्भाग्यपूर्ण हुने सक्ने चेतावनी दिउका छन्। ‘यसरी मस्जिद खुला राख्दा भीड बढ्छ, यसले कोरोना संक्रमण बढाउन थप बल पुग्छ’, चिकित्सकहरुले भनेका छन्। 

पाकिस्तानले पहिले मस्जिद बन्द राख्ने निर्णय गरेको थियो। तर इस्लामिक समूहको दबाबपछि पाकिस्तान सरकारले केही सर्त राखेर मस्जिद खुला राख्ने निर्णय गरेको बीबीसीले जनाएको छ।

उता इन्डोनेसियाको अचे प्रान्तमा मुसलमान समुदायको ठूलो बसोबास छ। त्यहाँ बिहीबार रातिदेखि मस्जिदमा सामूहिक नमाजमा सहभागी भएका थिए। यो रमजान सुरु हुनुअघिको नमाज थियो। 

इन्डोनेसियामा धेरैजसो मानिस फेस मास्क लगाएका थिए। तर सामाजिक दूरीको भने धज्जी उडाइएको थियो। त्यहाँ इन्डोनेसिया सरकारले कोरोना रोकथामका लागि जारी गरिएको गाइडलाइनको पनि व्यापक उल्लंघन गरिएको पाइएको बीबीसीले जनाएको छ। ‘कोरोनाभाइरसको डर छ तर नमाजका लागि निस्किनमा कोरोनासँग केको डर ?’, नमाजका लागि हिँडेका एक व्यक्तले बीबीसी संवाददातासँग भनेका थिए।