काठमाण्डौ । विश्वमै पहिलोपटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ। 

अमेरिकाको बाल्टिमोरमा ५७ वर्षीय डेबिड बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण (ट्रान्सप्लान्ट) गरिएको हो। चिकित्सकहरुले ७ घन्टाको प्रायोगिक प्रक्रियामार्फत आनुवंशिक रुपमा संशोधित सुँगुरको मुटु डेबिडको शरीरमा प्रत्यारोपण गरेका थिए। हाल डेबिडको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन्। 

यो ट्रान्सप्लान्ट डेबिडको जिन्दगी बचाउने अन्तिम आशा थियो। यद्यपि अहिलेसम्म यो यकिन भइसकेको छैन कि उनीको आयु कति लम्बिन सक्छ। 

सर्जरी गर्नुअघि डेबिडले भनेका थिए, ‘मलाई थाहा छ कि यो ट्रान्सप्लान्ट अँध्यारोमा तीर चलाउनुजस्तै हो, तर यो नै मेरा लागि अन्तिम उपाय थियो।’

चिकित्सकहरुका अनुसार यदि यो ट्रान्सप्लान्ट नगरिएको भए डेबिडको जीवित रहने सम्भावना निकै कम थियो। सोही कारण युनिभर्सिटी अफ मेरील्यान्ड मेडिकल सेन्टरका चिकित्सकलाई अमेरिकाको स्वास्थ्य विनियामकले यो ट्रान्सप्लान्टका लागि मन्जुरी दिएको थियो।

यो ट्रान्सप्लान्ट गर्ने मेडिकल टिमले थुप्रै वर्ष लगाएर गरिएको शोधका आधारमा यस सर्जरीलाई सफल पारेका छन्। यदि यो ट्रान्सप्लान्ट प्रभावकारी सिद्ध भएमा विश्वमै थुप्रै मानिसको जिन्दगी बचाउन सकिने चिकित्सकहरु बताउँछन्। यसका साथै मानव अंगको कमीको संकटलाई टार्न सकिने बताइएको छ। 

अमेरिकामा हरेक दिन १७ जना मुटुका बिरामीको ट्रान्सप्लान्ट नहुँदा ज्यान जाने गरेको तथ्यांक रहेको छ। त्यहाँ करिब १ लाखभन्दा बढी मानिस मुटु ट्रान्सप्लान्टको पर्खाइमा छन्। 

यसअघि २०२१ अक्टोबरमा न्युयोर्कमा सुँगुरको मिर्गौला मानिसमा सफल प्रत्यारोपण गरिएको थियो। यद्यपि मिर्गौला प्रत्न्यारोपण गरिएका व्यक्तिको पहिले नै ब्रेन डेड भइसकेको थियो। जसका कारण उनी ठीक हुने कुनै सम्भावना थिएन। – एजेन्सी