काठमाण्डौ । कोरोनाले विश्वभरको अर्थव्यवस्थालाई चौपट पारेको छ। तर सेयर बजारका लगानीकर्ताहरु उच्च प्रतिफल (रिटर्न) ले मालामाल भइरहेका छन्। 

औसत प्रतिफलकै कुरा गर्ने हो भने गत एक वर्षको अवधिमा भारतका सेयर लगानीकर्ताहरु बढी मालामाल भएका छन्। किनकि पछिल्लो एक वर्षको अवधिमा भारतका सेयर लगानीकर्ताहरुले ८३.३५ प्रतिशत प्रतिफल पाएका छन्। जुन विश्वका अन्य सेयर बजारको तुलनामा सबैभन्दा बढी हो। 

बजार पुँजीकरणको हिसाबले भारत विश्वको आठौँ स्थानमा छ। भारतले बजार पुँजीकरणमा क्यानडा र फ्रान्सलाई पनि पछि पार्ने सम्भावना बढ्दै गएको छ। 

प्रतिफलकै हिसाबले दक्षिण कोरिया दोस्रो नम्बरमा रहेको छ। त्यहाँका लगानीकर्ताले सेयर बजारबाट ८१ प्रतिशत प्रतिफल प्राप्त गरेका छन्। 

उता क्यानडाको सेयर बजारले एक वर्षमा उत्कृष्ट प्रदर्शन गरेको छ। त्यहाँका लगानीकर्ताहरुले सेयर बजार ६३.५३ प्रतिशत प्रतिफल प्राप्त गरेका छन्। 

त्यस्तै पछिल्लो एक वर्षमा ताइवान र अस्ट्रेलियाका लगानीकर्ताले ६३ प्रतिशत र फ्रान्सका लगानीकर्ताले ६१ प्रतिशत प्रतिफल निकाल्न सफल भएका छन्। 

चिनियाँ सेयर बजारले पनि लगानीकर्ताहरुले ५५.३१ प्रतिशत प्रतिफल दिएको छ। 

त्यसो त विकसित देश अमेरिकाका सेयर लगानीकर्ताहरुले एक वर्ष ५१.२६ प्रतिशतमात्रै प्रतिफल प्राप्त गरेका छन्।

बितेको एक वर्षमा पूरै विश्व बजारको प्रदर्शन भने औसत रहेको छ। एक वर्षको अवधिमा विश्व सेयर बजारबाट लगानीकर्ताहरुले ४९.२४ प्रतिशत प्रतिफल प्राप्त गरेका छन्।

बजार पुँजीकरणका हिसाबले टप १० बजारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ। अमेरिकाको कुल बजार पुँजीकरण ४७ हजार ४९३ अर्ब डलर रहेको । त्यसैगरी चीनको ११ हजार ३५२, हङकङको ७ हजार अर्ब डलर र जापानको ६ हजार ७४६ अर्ब डलरका साथ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। पाँचौँ स्थानमा ३ हजार ७०४ अर्ब डलर बजार पुँजीकरणका साथ बेलायत रहेको छ। 

त्यसपछि फ्रान्स, क्यानडा र भारत रहेका छन्। यी देशको बजार पुँजीकरण क्रमशः ३ हजार ३२२ अर्ब डलर, ३ हजार १२२ अर्ब डलर र ३ हजार ९ अर्ब डलर रहेको छ। – एजेन्सी