काठमाण्डौ । विश्वकै सेयर बजारमा मूल्यमा हुने उतारचढाव लगानीकर्ताको मनोविज्ञानले व्यापक प्रभाव पार्छ। मनोविज्ञान कमजोर हुँदा मूल्य घट्ने गर्छ भने मनोविज्ञान बलियो हुँदा मूल्य बढ्छ। 

गत साता विश्व बजारमा सेयरको मूल्यमा गिरावट आएको थिया।े यो साता अन्तिम कारोबारलाई हेर्दा एसियाली, युरोपेली र अमेरिकी बजारमा एकाएक उछाल आएको देखिन्छ। 

आर्थिक तथ लगानीको हिसाबले नेपालको सेयर बजारमा बहुर्राष्ट्रिय कम्पनीको बाहुल्यता नभए पनि विगतमा लगानीकर्ताको मनोविज्ञानको रेखालाई हेर्दा यसको सकारात्मक तथा नकारात्मक दुवै असर परेको देखिन्छ। खासगरी कोभिडको प्रभावदेखि यस्तो हुन गएको हो। 

कतिपय आलोचकहरुले नेपाल र विश्व बजारको सम्बन्धलाई ‘अमेरिकामा पानी पर्दा नेपालमा छाता ओडिन्छ’ भनेर बताउने गरेका छन्। 

यो समाचार तयार पार्दासम्म लन्डनको ‘फुट्सी–१००’ ६४.९५  अंकले बढेर ६६७८.२९ को विन्दुमा पुगेको छ भने एसियन डाउ ७६.२९ अंक बढेर ४१५२.८९ का विन्दु पुगेको छ। भारतको सेन्सेक्स भने २.२८ प्रतिशतले बढेर ५१४४४.६५ को विन्दुमा पुगेको छ। जापानको निक्की २२५ पनि १५०.९३ अंक बढेर २१९५५९.८९ को उचाइमा पुगेको छ। 

विश्व बजारमा उछाल आउनुको मुख्य कारण बोन्डमा लगानी गरेर प्राप्त हुने प्रतिफलभन्दा सेयरबाट बढी हुने हुँदा लगानीकर्ताहरु सेयरबजारप्रति आकर्षित भएका हुन्। 

लामो समय बढेको नेपालको सेयर बजारमा पनि विगत केही दिनदेखि करेक्सनको अवस्था देखिएको छ। धेरै लगानीकर्तामा अब बजारको दिशा के होला अनि कतिसम्म घट्ला भन्ने जिज्ञासा देखिन्छ। यसको सहज जबाफ बजार किन बढ्छ भन्दा घट्नका लागि र किन घट्छ भन्दा बढ्नका लागि नै हो। 

आज बजार २४०० भन्दा तल आएर फर्किएकोले अब बजार माथि नै जाने देखिएको बजार जानकार गोविन्दप्रसाद घिमिरे बताउँछन्। ‘प्राविधिक रुपले पनि आज दिनभरको बजारले ‘डब्ल्यू’ आकार बनाएकोले आगामी दिन बजार बढ्ने आशा गर्न सकिन्छ’, उनले भने, ‘धेरै लगानीकर्ता अब बजारमा ढुक्क छन्।’