काठमाण्डौ । विश्व नर्सिङ दिवसकै दिन नेपालमा पहिलोपटक स्टाफ नर्समा समेत कोरोना संक्रमण देखिएको छ । 

कपिलवस्तुमा मंगलबार संक्रमण पुष्टि भएका ८ मध्ये एकजना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स रहेको खुलेको हो । 

नेपालमा स्वास्थ्यकर्मीमा कोरोना फेला परेको यो पहिलो घटना हो । 

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले टेलिफोनमा कुरा गर्दै थपिएका ८ संक्रमिमध्ये एकजना २५ वर्षीया स्टाफ नर्स रहेकी पुष्टि गरेका छन् । संक्रमित नर्स कपिलवस्तु नपा १ की स्थायीबासी समेत हुन् । 

कपिलवस्तुमा हालसम्म २९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये २८ जना विभिन्न समयमा लुकिछिपी भारतबाट आएका थिए । भारत नगएकी भए पनि संक्रमितबाटै ती नर्समा संक्रमण भएको देखिएको छ । 

यसअघि वीरगञ्जका २ पत्रकारमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । यसरी हेर्दा समुदायस्तरमा फैलिन थालेको कोरोनाका कारण नेपालमा स्वास्थ्यकर्मी र संचारकर्मी समेत उच्च जोखिममा रहेका देखिएको छ । 

सुरक्षाकर्मी समेत उच्च जोखिममा छन् ।