काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२२ का अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) तथा काठमाण्डौ जिल्ला अदालत बार एसोसिएसनकोे समन्वयमा जिल्ला अदालत बार एसोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताका लागि एकदिने तालिम कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको छ।

कार्यक्रम काठमाण्डौको हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट गत शुक्रबार सम्पन्न भएको हो। धितोपत्र बजारमा लगानी गर्दा हुने जोखिम व्यवस्थापनको विषय तथा धितोपत्र बजारमा संलग्न विभिन्न पक्षले पालना गनुपर्ने नितीनियम प्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सेक्युरिटी रिस्क म्यानेजमेन्ट एन्ड लिगल इस्युज विषयमा क्यापिटलले यो कार्यक्रमको आयोजना गरेको हो। 

यो विश्व लगानीकर्ता सप्ताह इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसन (आईओएससीओ)को आह्वानमा प्रत्येक वर्ष अन्तर्राष्ट्रियस्तरमा सेयर लगानीसम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ। यस कार्यक्रमको सभापतित्व जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल)ले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिमा प्रभु क्यापिटलका बोर्ड डाइरेक्टर डा. भरतसिंह थापा थिए। 

तालिममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटलका तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गानन्द झा तथा विज्ञ प्रशिक्षकका रुपमा धितोपत्र बोर्डका कानुनी विभागका एक्टिङ डाइरेक्टर राजाराम दुवालले प्रदान गरेका थिए। 

कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिव उज्वलराम श्रेष्ठ, कोषाध्यक्ष सन्तोष भण्डारीलगायत कार्यसमिति सदस्यहरुसमेत गरी करिब ६० जनाको सहभागिता भएको थियो। कार्यक्रममा काजिअ बारका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल) ले वर्तमान सेयर बजारमा धेरै लगानीकर्ताको प्रवेश भएको र सबैमा सेयर बजारसम्बन्धी सचेतना पर्याप्त नभएको अवस्थामा सेयर बजारबाट हुनसक्ने नोक्सानी र कानुनी प्रावधानलाई सचेतना अभिवृद्धि गर्दै लगानीको सही सदुपयोग गर्नुपर्ने विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको बताए। 

सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले सेयर बजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय–समयमा सञ्चालन गर्दै आइरहेको छ।