-भक्तराज रसाइली(तस्विर पनि)
काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्डले सोमबार प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ ।
राजधानीको भद्रकालीबाट प्रभातफेरि कार्यक्रम सुरु भएको थियो । प्रभातफेरिले राजधानीको मुख्य चहलपहल हुने क्षेत्रको परिक्रमा गरेको थियो ।
एकाबिहानै पूँजी बजार र त्यससँग सम्बन्धित जनचेतनामूलक नारा लेखिएका प्लेकार्ड तथा ब्यानरले राजधानीको भद्रकाली, सुन्धारा, रत्नपार्क क्षेत्र रंगिएको थियो।
प्रभातफेरिमा सहभागीहरुले सेयर बजारसँग सम्बन्धित सचेतनामूलक प्लेकार्ड समेत बोकेका थिए । उनीहरुले हल्लाको भरमा सेयरमा लगानी गर्न नहुने र सुसूचित भएर मात्र लगानी गर्नुपर्ने लगायतका चेतनामूलक प्लेकार्ड बोकेका थिए । ‘यस्तो बसालौं बानी, बुझेर गरौं लगानी’, ‘सुसूचित लगानी, भरपूर आम्दानी’, ‘नियमन निकायको सदिच्छा, लगानीकर्ताको सुरक्षा’, ‘समृद्ध नेपालको आर्थिक आधार, गतिशील, विश्वसनीय र देशव्यापी पूँजीबजार’, ‘विवेकपूर्ण लगानी, कहिल्यै हुन्न नोक्सानी’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रभातफेरिका सहभागीले बोकेका थिए ।
कार्यक्रममा नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर, बैंक तथा बित्तीय संस्था, अधिकांश दलाल, लगानीकर्ता लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
भृकुटीमण्डपमा समापन भएको कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले यस किसिमको बाक्लो उपस्थितिले साच्चै नै सेयर बजारको विकास र विस्तारमा सबै पक्ष गम्भीर भएको प्रमाणित हुने र सेयर सचेतनाले पूँजी बजारको भविष्य उज्वल देखिएको बताए ।
सोही कार्यक्रममा नेप्सेका सिईओ चन्द्रसिंह साउदले पूर्ण अनलाइन कारोबारका लागि नेप्सेको तयारी भइसकेको र हाल मोक टेस्टिङ्गमा लगानीकर्ताहरुको उल्लेख्य सहभागिताका लागि आग्रह गरेका थिए ।
सीडीएससीका सिईओ देवप्रसाद गुप्ताले पनि यस्ता कार्यक्रमले लगानीकर्ता सचेतनामा मद्दत पुग्नेमा जोड दिए ।
यस किसिमको कार्यक्रम सातैवटा प्रदेशमा हुनुपर्ने र छिटोभन्दा छिटो पूर्ण अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आउनुपर्ने नेपाल पूँजीबजार संघका अध्यक्ष नवराज सुबेदीको भनाई थियो ।
धितोपत्र बोर्डले अक्टोबर १(आज)देखि ७ तारिखसम्म लगानीकर्ता सप्ताह मनाउनेछ । यस अन्तरगत प्रभातफेरिदेखि लगानीकर्ताका सचेतना कार्यक्रम, राजधानी बाहिर पहिलोपटक विराटनगरमा पूँजीबजार प्रदर्शनी लगायतका कार्यक्रम आयोजना हुने बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago