बीबीसी नेपाली सेवा । वीरगञ्ज, भैरहवा र नेपालगञ्ज नाका हुँदै नेपाल ल्याइने तरकारी र फलफूलको आयातमा कमी आएको त्यहाँका भन्सार कार्यालहरूले बताएका छन्।
केही तरकारी र फलफूलमा विषादीको अवशेष हेर्न द्रुत जाँच गर्दा विषादीको मात्रा धेरै भेटिएकोले नेपाल आउनबाट रोकिएको बताइएको छ।
भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादीको अवशेषको जाँचको विषयलाई लिएर गत महिना सर्वसाधारण र सांसदहरू सरकारको आलोचनामा उत्रिएका थिए।
सरकारले जाँचको निर्णय फिर्ता लिएपनि अदालतको आदेशपछि मुख्य दुई प्रकारका विषादीहरूको जाँच सात ठाँउमा भइरहेको अधिकारीहरू बताउँछन्।
जाँचको असर तरकारी तथा फलफूलको आयातमा देखिएको छ।
आयातमा कमी आएपछि तरकारीको भाउ पनि आकाशिएको छ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले भने, "पहिला १५ गाडी तरकारी अनि २० गाडीसम्म फलफूल आउँथ्यो। आजकाल कमी आएको छ।"
"आठ-नौ गाडी मात्रै आउँछन्।"
विषादीको अवशेष जाँचपास गराउन नमुना लिएर सर्लाहीको नवलपुर पुग्नुपर्ने भएकाले पनि आयातमा कमी आएको उनको भनाइ छ।
अहिले विषादीको अवशेष जाँचपासको प्रमाणपत्र बिना भन्सार जाँचपास नहुने हुँदा तरकारी र फलफूल मूल नाका भएरै ल्याउने गरिएको छ।
त्यसले साना नाकाहरूबाट हुने आयात पूर्ण रुपमा रोकिएको छ।
गुनासो
भैरहवा नाकामा ताजा तरकारीको आयातमा केही कमी आएपनि अन्य वस्तुको आयात पहिले जस्तै रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भटराईले बताए। उनले भने, "परीक्षण भएर प्रमाणपत्र प्राप्त भइरहेको छ। पहिलेको प्रवृत्ति हेर्दा अहिले ताजा तरकारीको मात्रा घटेको देखिन्छ।"
नेपालगञ्ज भन्सारबाट तरकारी र फलफूल आयातको अवस्था पनि भैरहवाको जस्तै छ।
ताजा तरकारी आयातमा कमी आएको र अन्यको आयात उस्तै रहेको उक्त भन्सारले उपलब्ध गराएको तथ्याङ्कमा देखिन्छ।
मेची भन्सारबाट आयातमा केही फरक नआएको र महेन्द्रनगर भन्सारमा रोकिएको तरकारी र फलफूल आयात मङ्गलवारदेखि पुन: सुरु भएको बताइएको छ।
विषादी जाँचपासका क्रममा आलु र केराजस्ता केही तरकारी र फलफूलमा विषादीको मात्रा भेटिएको र ती वस्तुलाई नेपाल ल्याउन रोकिएको बताइएको छ।
छिट्टै भारतको गुणस्तर मापन निकायसँग सम्झौता गरिने त्यसपछि अधिकांश जाँच भारत नै गरेर ल्याउने र नेपालतर्फ छड्के जाँच मात्र गर्न सकिने बताइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19