 
                     
                                Bishnu Bashyal
 
                                    -अनन्त्य सुन्दर
काठमाण्डौ । पछिल्लो समय नेपाली सेयरमा भारी अङ्कको तलमाथि हुने गरेको छ। राष्ट्र बैङ्क साथै अर्थ मन्त्रालयको दीर्घकालीन नीति नहुँदा लगानीकर्ताहरू त्यही अनुरूप कारोबार गर्ने भएकाले यस्तो अवस्था सृजना भएको जानकारहरू बत्ताउँछन्। नियामक निकायहरूबाट अनावश्यक विज्ञप्ति, तरलता अभाव, नीतिगत स्पष्टता नहुनु, सेयर धितो कर्जामा कडाइ लगायत विविध कुराहरूले बजारमा अहिले उत्तर चढाव हुने गरेको छ।
केही दिनअघि तरलताको हाहाकार भएसँगै बैङ्कहरूले निक्षेपमा व्याज बढाउन सुरु गरेका थिए । बैङ्कहरूले ब्याजदर ह्वात्तै बढाएका कारण राष्ट्र बैङ्कले अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशत मात्र बढाउन पाइने सर्कुलर जारी गरेको छ। सर्कुलर जारी गरेसँगै आज बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ। तर प्राविधिक विश्लेषक विष्णु बस्याल राष्ट्र बैङ्कको उक्त हस्तक्षेप गलत रहेको बताउँछन्।
'बैङ्कहरूबीच अहिले निक्षेप तानातान छ। बैङ्कहरूले पनि आफ्नो व्यवसाय चलाउनुपर्यो । उनीहरू पनि बैङ्कका लगानीकर्ता प्रति जबाफदेही हुनु पर्छ ।' विष्णु बस्याल भन्छन्,-'राष्ट्र बैङ्कले हिजो ब्याजदर बारे जारी गरेको धम्कीपूर्ण सर्कुलर गलत छ। राष्ट्र बैङ्कले तरलता व्यवस्थापन गर्न नसक्ने अनि आफ्नो अक्षमताको भारी बैङ्कहरूको काँधमा बोकाउनु गलत हो।'
'बैङ्कहरूलाई आफ्नो व्यवसाय सञ्चालन गर्न राष्ट्र बैङ्कहरूलाई खुल्ला नछोड्ने हो भने सबै वित्तीय संस्थाहरू बन्द गरे हुन्छ। राष्ट्र बैङ्कले वित्तीय संस्थाहरूलाई नियमन गर्ने हो हस्तक्षेप होइन ।'- उनले थपे।
राष्ट्रबैङ्कले आफ्नो अक्षमता साथै निकम्मापनका कारण दीर्घकालीन आर्थिक रणनीति ल्याउन नसकिरहेको उनको आरोप छ । बस्याल भन्छन्,-'अर्थ मन्त्रालय र राष्ट्र बैङ्कमा बाहिरबाट हेर्दा समन्वय नभएको देखिन्छ। त रोए झैँ गर म कुटे झैँ गर्छु भने जस्तै भित्र भने मिलेमतोमा काम हुन्छ।'
उनले अहिले देशका सबैभन्दा ठूला राजनीतिक दलालहरू मन्त्रालयमा रहेका र अर्थमन्त्री नै बजारप्रति सकारात्मक नभएका आरोप समेत लगाए । 'हिजडा अर्थतन्त्रले कुन देशको विकास हुन्छ ?' प्रश्न गर्दै बस्याल भन्छन्-'बीचको अर्थतन्त्र भन्ने हुँदैन। राजनीतिक दलहरूले कि हामीलाई पुँजीबजार, निजी क्षेत्र चाहिँदैन भन्नु पर्यो। होइन भने अनावश्यक हस्तक्षेप बन्द गरेर खुल्ला बजार अर्थतन्त्रको सिद्धान्त व्यवहारमा कार्यान्वयन गर्नुपर्यो ।'
बजारमा एउटा समस्या हुने, तर नियामक निकायहरूले समग्र बजारलाई असर गर्ने रणनीति ल्याउने गरेकामा उनले आक्रोश पोखे । बस्याल भन्छन्- 'औँलामा घाउ भयो भनेर हात नै काटेर फाल्नु गलत हो।'
तरलता सहज गर्ने काम राष्ट्र बैङ्कको, तर उसले यसरी हस्तक्षेप गर्दा समग्र बजारलाई असर गर्ने बस्यालको विश्लेषण छ । 'आज एउटा कुरा भन्ने, भोलि अर्को कुरा, जुन बजार खुल्ला छैन, नियामक निकायहरूबाट बारम्बार हस्तक्षेप हुन्छ। त्यस्तो बजारमा जोखिम उच्च हुने भएकाले लगानीकर्ताहरू लगानी गर्न डराउँछन्।' उनले भने-'नियामक निकायहरूका पदाधिकारीहरूमा पुँजी बजार भनेको पुँजी निर्माण गर्ने ठाउँ हो, जूवा घर होइन भन्ने चेत भएमा मात्र समग्र बजारको हित हुने नीतिहरू निर्माण हुन्छ ।'
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19