– अनन्त्य सुन्दर

काठमाण्डौ । केही साताअघि घट्दो क्रममा रहेको नेपाली सेयर बजार अहिले बुलिस लयमा फर्केको छ। 

कम्पनीहरुले लाभांश बढ्ने बेला भएसँगै लगानीकर्ताको आकर्षण लघुवित्त र बैंकहरुमा देखिन्छ। तर, केही बैंकहरुले लगानीकर्ताले सोचेअनुरुप लाभांश वितरण नगरेकाले लगानीकर्ताहरु यी कम्पनीहरूमा लगानी गर्ने कि नगर्ने भनेर अन्यौलमा भएको देखिन्छ। ‘फन्डामेन्टल्ली राम्रो कम्पनीमा लगानी गर्दा फाइदा हुन्छ भनेर एभरेष्ट बैंक किनेको थिएँ’, एक लगानीकर्ता भन्छन्, ‘सोचेअनुरुप लाभांश नआएकाले अब के गर्ने भनेर अन्यौलमा छु।’ 

लगानीकर्ताहरुले सोचेअनुरुप लाभांश वितरण नगरेको एभरेस्ट बैंकको मूल्यमा आज झन्डै ८ प्रतिशतको गिरावट आएको छ।

सेयर बजारका विश्लेषक विष्णु बस्याल नेपाली लगानीकर्तामा लाभांश बढ्ने कम्पनीहरु फन्डामेन्टल्ली राम्रो कम्पनी हुन् भन्ने गलत अवधारणा रहेको बताउँछन्। ‘कम्पनीले बोनस घोषणा गर्नु वा नगर्नुले कम्पनीको फन्डामेन्टलको विश्लेषण गर्नु गलत हो’, उनी भन्छन्, ‘फन्डामेन्टल्ली राम्रा कम्पनीमा स्थिर ईपीएस हुनुका साथै राम्रो बिजनेस ग्रोथ हुन्छ।’

‘बोनस सेयर भनेको लगानीहरुको कमाइ होइन भन्ने कुरा लगानीकर्ताहरुले बुझ्न आवश्यक छ’, बस्याल भन्छन्, ‘राम्रो लाभांश नदिए पनि ग्रोथ, कमाइका साथै बिजनेस राम्रो छ भने मेरो नजरमा त्यो कम्पनी फन्डामेन्टल्ली राम्रो कम्पनी हो।’

ट्रेडरहरुलाई बोनस हेर्न आवश्यक पर्ला तर राम्रो ग्रोथ भएको कम्पनीहरुमा दीर्घकालीन लगानी गर्ने लगानीकर्तालाई कम्पनीले बोनस नदिए पनि फरक नपर्ने बस्यालको तर्क छ। ‘कम्पनीले बोनस सेयरभन्दा पनि नगद लाभांश दिनु राम्रो हो’, बस्यालले भने।