– अनन्त्य सुन्दर
काठमाण्डौ । रोजगारीको सिलसिलामा विदेशिएका नेपालीलाई आईपीओमा ५ प्रतिशत कोटा छुट्याउन अर्थ मन्त्रालयमा गृहकार्य अघि बढेको छ। विदेशबाट रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएका नेपालीलाई प्रोत्साहन गर्न उक्त कोटा छुट्याउन लागिएको हो।
अहिले कोरिया, जापान, अस्ट्रेलिया, कतारलगायतका मुलुकबाट सेयर कारोबार गर्ने नेपालीको संख्या बढ्दो छ। मेरो सेयर, डिम्याटका साथै टीएमएस सजिलै अनलाइनबाट खोलेर चलाउने मिल्ने भएकाले पनि विदेशमा रहेका नेपाली सेयर बजारप्रति थप आकर्षित भएको देखिन्छन्।
प्रथम बजारमा आईपीओ निष्कासन गर्दा म्युचुल फन्ड सञ्चालन गर्दै आएका मर्चेन्ट बैंकहरुले ५ प्रतिशत कोटा पाउँदै आएका थिए। अब विदेशमा रहेका नेपालीलाई पनि ५ प्रतिशत कोटा छुट्याउने भनिएको छ।
म्युचुल फन्ड र विदेशमा रहेका नेपालीलाई आईपीओमा कोटा छुट्याउँदै गर्दा इन्भेस्टमेन्ट कम्पनीहरुलाई पनि कोटा छुटाउने पर्ने प्राविधिक विश्लेषकका साथै बजारका सक्रिय लगानीकर्ता विष्णुप्रसाद बस्याल बताउँछन्।
बस्याल नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता भएका संस्थागत कम्पनीहरु सबैलाई आईपीओमा कोटा दिनुपर्ने बताउँछन्। ‘पोर्टफोलियो म्यानेजमेन्ट कम्पनी, योग्य संस्थागत लगानीकर्तालगायत अन्य इन्भेस्टमेन्ट कम्पनीलाई निष्कासन गरिएको आईपीओको कुल ५० प्रतिशत हिस्सा छुट्याउनुपर्छ’, उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा सर्वसाधारणका लागि ३५–४० प्रतिशत मात्र छुट्याउने गरिन्छ। बाँकी रहेको भने संस्थाहरुलाई हुन्छ।’
‘हाम्रो मुलुकमा कम्पनीको अवस्था, कम्पनी स्थापना भएको मिति जतिसुकै भए पनि आईपीओ रु. १०० मा निष्कासन गरिन्छ’, बस्यालले भने, ‘त्यस्तो कम्पनीको सेयर मूल्यमा चलखेल भएर रु. १०० को सेयर रु १०००–२००० सम्म पुगेको हामीले देखेका छौँ। बजारमा संस्थागत लगानीकर्ताहरु सक्रियको भएको खण्डमा निश्चित प्रक्रियाहरु अपनाएर कम्पनीको मूल्य निर्धारण गरिन्छ। त्यसैले अप्रत्याशित रुपमा कम्पनीको सेयर मूल्य उचालिने गतिविधि पनि रोकिन्छ।’
बजारमा संस्थागत लगानीकर्ताहरुको सहभागिता बढ्दा सेयरको तरलता हुनुका साथै ठूलो कित्तामा फेयर प्राइसमा सेयर कारोबार हुने बस्यालले बताए। ‘संस्थाहरुलाई दिँदा सरकार, प्रमोटर साथै समग्र बजारलाई फाइदा नै फाइदा छ’, उनले भने, ‘संस्थागत लगानीकर्ताहरुले धेरै ट्याक्स तिर्ने भएकाले सरकारलाई राजस्व संकलनमा फाइदा छ। त्यसका साथै रोजगारी पनि सिर्जना हुन्छ।’
अहिले आईपीओ निष्कासन हुँदा ५०–६० गुणा बढी आवेदकहरुले आवेदन दिने गरेका छन्। आवेदकहरुले दसौँपटक आवेदन दिँदा पनि आईपीओ नपरेको अवस्था छ। ‘सेबोनबाट प्राप्त संस्थागत कम्पनीहरुमा व्यक्तिगत लगानीकर्ताहरुको नै सामूहिक लगानी हुन्छ। त्यसैले आइपिओमा कोटा छुट्याउदा निश्चित हिस्सा उनीहरूको पनि हुन्छ’, बस्यालले भने, ‘१० कित्ता नै नपरे पनि हरेक लगानीकर्ताको भागमा १ कित्ता भए पनि पर्छ।’
पुँजीबजारलाई विकास गर्नका लागि सामूहिक लगानीलाई प्रोत्साहन गर्ने नीति बनाउनुपर्ने बस्यालले बताए। ‘१०० रुपैयाँमा आइपिओ निष्कासन गर्ने चलन राम्रो होइन। त्यसैले बुक–बिल्डिङबाट आईपीओ निष्कासन गर्न कम्पनीहरुलाई प्रोत्साहन गर्नुपर्छ’, बस्याल भन्छन्, ‘बुक–बिल्डिङ प्रक्रियामा संस्थागत लगानीकर्ताहरु पनि सहभागी हुन्छन्। त्यसैले कम्पनीको सही मूल्य निर्धारण हुनुका साथै समग्र अर्थतन्त्रलाई नै राम्रो हुन्छ।’
बुक बिल्डिङबाट आईपीओ निष्कासन हुँदा कम्पनीको ग्रोथअनुरुप मूल्य निर्धारण हुने भएकाले चलखेल न्यूनीकरण हुनुका साथै बजार पनि स्थिर हुने बस्यालले बताए।
‘वर्षौंदेखि सञ्चालन भएको कम्पनीको आईपीओ रु. १०० मा निष्कासन गर्दा प्रमोटरहरु पनि मारमा परेका छन्। प्रोमोटरहरुले आईपीओ निष्कासन गर्नुअघि उक्त कम्पनीलाई एउटा उचाइमा पुर्याएका हुन्छन्’, बस्याल भन्छन्, ‘त्यसैले १०० मा नै निष्कासन गर्दा उनीहरुलाई अन्याय भएको देखिन्छ। तर, बुक–बिल्डिङबाट आईपीओ निष्कासन गर्दा प्रिमियममा निष्कासन हुने भएकाले संस्थाको रिजर्भबाट प्रोमोटरहरु पनि लाभान्वित हुन्छन्।’
‘विश्वमा कहीँ नभएको चलन हाम्रो मुलुकमा हुन्छ। बजारको सही विकास र विस्तारको लागि नियामक निकायले बजारलाई नै कम्पनीको मूल्य निर्धारण गर्न दिनु पर्छ’, बस्यालले भने।
बुक बिल्डिङ मूल्य निर्धारण गर्ने ८–९ वटा भ्यालुएसन म्याट्रिक्स प्रयोग गर्न सकिन्छ। उक्त म्याट्रिक्स प्रयोग गरेर ईस्यू म्यानेजरले कम्पनीको आईपीओको सेयर मूल्य निर्धारण गर्छ। निर्धारण गरिएको मूल्य संस्थागत लगानीकर्ताका साथै रिटेल लगानीकर्ताहरुले पनि विश्लेषण गर्ने भएकाले मूल्य फेयर नभएमा उनीहरुले आईपीओ किन्दैनन्। त्यसैले बजार विकासका लागि संस्थागत लगानीकर्ताहरुको सहभागिता बढाउनुका साथै बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्नुपर्ने बस्यालले बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago