काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्ने सरकारको अर्थमन्त्री विष्णु पौडेल हुने लगभग पक्का भएपछि सेयर बजारमा सोमबार उछाल आएको छ।
बजार आज ५६.८६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९२४.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.३८ अंकले बढेर ३७५.४४ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि २ अर्ब रुपैयाँ माथि भएको छ।
बजार जानकार मुक्ति अर्याल आज बजार बढ्नुको मुख्य कारण अर्थमन्त्रीमा विष्णु पौडेल आउने खबर नै रहेको बताउँछन्। ‘अर्थमन्त्री विष्णु पौडेल बनेमा गभर्नरसँग राम्रो सम्बन्ध हुने र अर्थतन्त्रमा सुधार आउने देखिन्छ’, उनले भने, ‘यसले गर्दा राष्ट्र बैंकले लचिलो नीति लिन सक्छ। जसले गर्दा तरलताको समस्या हल हुँदै जान्छ र ब्याजदर पनि घट्दै जान्छ। यसले बजारलाई बुलिस लयमा फर्किन सपोर्ट गर्छ।’
लगानीकर्ताको मनोबल बढ्दा पनि बजार बढेको अर्याल बताउँछन्। ‘अब लगानीकर्ताको आत्मबल बढ्दै जाने पनि देखिन्छ’, उनले भने।
अर्का जानकार महेश रिजाल नयाँ सरकारको अर्थमन्त्री विष्णु पौडेल बन्ने लगभग निश्चित भएपछि बजारमा राम्रो बाउन्सब्याक भएको बताउँछन्। ‘यसअघि पनि पौडेल दुईपटक अर्थमन्त्री भइसकेका व्यक्ति हुन्, उनी अर्थमन्त्री हुँदा बजार बढेकै थियो’, उनले भने, ‘यसपालि पनि लगानीकर्ताले अर्थमन्त्रीमा विष्णु पौडेल नै आउने अपेक्षा गरेका थिए, जुन लगभग पूरा हुने देखिन्छ। यही कारणले लगानीकर्ताको मेनाबल बढ्दा बजार बढेको हो।’
बजार लगभग बटमनजिक रहेको उल्लेख गर्दै रिजालले १० महिना घटेको बजारले युटर्न खोजिरहेको बेला संयोगवश अर्थमन्त्री विष्णु पौडेल बन्ने खबरले बजार बढोत्तरी भएको बताए। ‘माघदेखि अब ब्याजदर पनि घट्दै जान्छ र बजारले बुलिस लय समात्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूहमा हरियाली छाएको छ भने एउटामा रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक ६.५२ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ५.१६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ३.३५ प्रतिशत, विकास बैंक समूहमा ४.६६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.२८ प्रतिशत, लगानी समूहमा ४.१६ प्रतिशत, जीवन बीमा समूहमा २.७८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८६ प्रतिशत, लघुवित्त समूहमा २.८० प्रतिशत, म्युचुअल फन्ड समूहमा १.८२ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.४८ प्रतिशत र व्यापार समूहमा ३.१३ प्रतिशतको बढोत्तरी भएको छ।
आज अन्य समूहमात्रै २.२९ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५० कम्पनीका ५६ लाख ५३ हजार ५३ कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक २० करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालय डिस्टिलरीको ११ करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ९ करोड ११ लाख रुपैयाँ, रिडी पावरको ७ करोड २६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ७८ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ५ करोड ३४ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ६४ लाख रुपैयाँ, अपी पावरको ३ करोड ८३ लाख रुपैयाँ, घलेम्दी हाइड्रोको ३ करोड ७२ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १२ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। गोर्खाज फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त, रिलायन्स फाइनान्स, हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, शिवश्री हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर, युनियन हाइड्रोपावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स र समृद्धि फाइनान्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। आज अरुण भ्याली हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन नेपाल टेलिकमका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago