काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ। 

बजार आज ८.१० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९१.३१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेर ३५८.८८ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर सवा १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार नयन बास्तोला हिजोआजको बढाइलाई बजार अब घट्न रोकिएको रुपमा लिनुपर्ने बताउँछन्। ‘आज पनि बजार घटाउने कोसिस भएको थियो तर त्यसविपरीत बजार बढेको छ’, उनले भने। 

सरकारबाट केही सकारात्मक पहल भइरहेकोले पनि बजार बढ्नलाई टेवा पुगेको बास्तोलाको भनाइ छ। ‘सरकारको नीति तथा कार्यक्रममा नेपालको पुँजीबजारमा एनआरएन भित्र्याउनेलगायतका कुरा सम्बोधन गरिएको छ’, उनले भने, ‘अब बजेटमा पुँजीबजारसँग सम्बन्धित केही विषयहरु समेटिने आशा लगानीकर्तामा देखिन्छ। त्यसैले पनि लगानीकर्ताको मनोबल बढ्दा बजार सकारात्मक बनिरहेको हो।’

अहिले बजारको सिजन पनि सुरु भएकोले अब बजार विस्तारै माथि नै लाग्न सक्ने बास्तोलाको बुझाइ छ। 

अर्का बजार जानकार विष्णु भुसाल पनि बजेट आउँदै गर्दा बजारले लय समात्न थालेको बताउँछन्। ‘बजेटमा पुँजीबजार सुधार र विकासका लागि केही नीतिगत व्यवस्था आउन सक्ने आशा लगानीकर्तामा देखिन्छ’, उनले भने, ‘हालका नीतिगत व्यवस्थामा फेरबदल नभएसम्म बजार धेरै माथि जाने अवस्था पनि छैन।’ 

‘बजेटपछि आउने मौद्रिक नीतिमा के–कस्ता व्यवस्था ल्याइन्छन्, त्यसपछि मात्रै बजारको दिशा तय हुन्छ’, भुसालले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.४४ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह १.५२ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.३० प्रतिशत, वित्त समूहमा ०.८३ प्रतिशत, जलविद्युत समूहमा ०.६० प्रतिशत, लगानी समूहमा ०.२६ प्रतिशत, जीवन बीमा समूहमा ०.९३ प्रतिशत, लघुवित्त समूहमा ०.५३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.८२ प्रतिशत र अन्य समूहमा ०.०४ प्रतिशतको बढोत्तरी भएको छ। 

यो दिन व्यापार समूह ०.९९ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.०२ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७२ कम्पनीका ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँमा कारोबार भएको छ। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक ७ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सोल्टी होटेलको ६ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको आज ओरियन्टल होटेलको ५ करोड ३९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ८३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको ४ करोड ३३ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको ३ करोड ३६ लाख रुपैयाँ, नागरिक लगानी कोषको २ करोड ९१ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २ करोड ४९ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको २ करोड ४४ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज आत्मनिर्भर लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 
यो दिन ग्रीनलाइफ हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।