काठमाण्डौ । वीरगञ्जमा उपचाररत चारजना कोरोना संक्रमित एकैपटक निको भएका छन् । 

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत चारैजनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट पनि नेगेटिभ आएसँगै उनीहरु रोगमुक्त भएका घोषणा गरिएको हो । 

पछिल्लो समय देशका विभिन्न क्षेत्रका संक्रमितहरु निको भएर घर फर्किने क्रम धमाधम चलिरहेको छ । 

अस्पतालका मेडिकलसुपरीटेन्डेन्ट डा.मदन उपाध्यायले छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकको चौथो रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको टेलिफोनमार्फत जानकारी दिए । 

उनका अनुसार तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । त्यहाँ जाँच गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।  चारैजनाको थ्रोट स्वाब संकलन गरी पुनः पठाइएकोमा चौथो पटकको रिपोर्ट समेत नेगेटिभ आएको हो । 

यो अस्पतालमा ५ कोरोना संक्रमितलाई राखिएको छ । अब योसँगै चारजनालाई आइतबार डिस्चार्ज गरिने र सो अस्पतालमा एक १४ वर्षीय बालक मात्र रहनेछन् । 

देशका विभिन्न क्षेत्रमा गरी हालसम्म १२ संक्रमित निको भएर घर फर्किसकेका छन् । कुल ४९ संक्रमितमध्ये ३७ जनाको विभिन्न क्षेत्रका अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । सबै संक्रमितको अवस्था सामान्य भएकोले डिस्चार्ज हुने संख्या धमाधम बढ्नसक्ने देखिन्छ ।