काठमाण्डौ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा वार्डमा राख्ने तयारी हुँदै गर्दा मृत्यु भएकी युवतीको पीसीआर परीक्षण नेगेटिभ देखिएको छ । 

नेपालमा हालसम्म कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छ । वीरगञ्जमा २३ वर्षीया युवतीको मृत्यु भएपछि उनको मृत्यु कारण कोरोना हो कि भन्ने शंका गरिएको थियो । तर, पीसीआर रिपोर्टले त्यो शंकालाई खारेज गरिदिएको छ । 

ती युवतीको तीन पटकसम्म र्यापिड टेस्ट गरिएको र सबैको रिपोर्ट पोजिटिभ आएको थियो । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार आरडिटी परीक्षणबाट पोजिटिभ रिपोर्ट आए पनि उनको मृत्यु कोरोनाकै कारणले भएको हो या होइन भन्ने विषयमा निश्चित गर्न पीसीआरको रिपोर्ट महत्वपूर्ण कडी थियो । 

ती युवतीको थ्रोट स्वाबको नमूनाको पीसीआर परीक्षणका लागि हेटौडास्थित प्रयोगशालामा पठाइएको थियो, जसको रिपोर्ट नेगेटिभ आएको हो । 

चिकित्सकहरुका अनुसार ती युवती केही महिनादेखि ब्लड क्यान्सरबाट पीडित थिइन् । उनी यसअघि बैशाख ४ गते चितवनको भरतपुर अस्पतालमा भनाई भई ५ दिनपछि डिस्चार्ज भएकी थिइन् । 

पछिल्ला केही दिनदेखि ती बिरामीमा श्वासप्रश्वासमा समस्या आएपछि परिवारजनले स्थानीय अस्पतालहरुमा लगेका थिए । तराई हस्पिटलमा उनको दुईपटक र पछिल्लो पटक नारायणी अस्पतालमा एकपटक गरी तीन पटक र्यापिड टेस्ट गरिएको थियो । तीनैवटा रिपोर्ट पोजिटिभ आएको थियो । 

ती युवतीको शव अस्पतालमै राखिएको छ भने परिवारका सबै सदस्यलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ ।