काठमाण्डौ ।चालू आर्थिक वर्ष २०८०/ ०८१ को सुरुवाती पाँच महिनामा वीरगञ्ज भन्सार कार्यालयबाट सर्वाधिक वस्तु तथा सेवा आयात भएको छ । 

आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा वीरगञ्जभन्सार कार्यालयबाट मात्रै २ खर्ब १७ अर्ब ६५ करोड ५७लाख ३२ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले बताएको छ । जुन मुलुकका २९ वटा भन्सार कार्यालयबाट भएको कुल आयातको ३२.८९ प्रतिशत हो । 
यस्तै सर्वाधिक आयात गर्ने सूचीमा भैरहवा भन्सार कार्यालय दोस्रो स्थानमा छ ।

भैरहवा भन्सार कार्यालयमार्फत ९८ अर्ब ६९ करोड ३२ लाख १ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । जुन कुल आयातको १५.३७ प्रतिशत हो । 

यो अवधिमा सबैभन्दा कम आयात गर्नेमा नवलपरासी जिल्लामा अवस्थित त्रिवेणी भन्सार कार्यालय छ । त्रिवेणी भन्सार कार्यालयबाट जम्मा ४० हजार रुपैयाँ मात्रकोे आयात भएको भन्सार विभागले बताएको छ । 

यसैगरी चालू आवको साउनदेखि मंसिरसम्मको अवधिमा सबैभन्दा बढी निर्यात त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भएको छ । यो अवधिमा उक्त विमानस्थलबाट १५ अर्ब ७० करोड ४ लाख ५६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । जुन कुल निर्यातको २४.८४ प्रतिशत हो ।