काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

वीरगन्जमा उपचारका क्रममा मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टिसँगै मृतकको संख्या ४३ पुगेको छ। 

वीरगन्जको माईस्थाननिवासी ७० वर्षीय श्याम नारायण वर्णवालको उपचारका क्रममा मंगलबार दिउँसो नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि सुरुमा उनलाई सोमबार एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। 

कोरोना लक्षण देखिएपछि वर्णवाललाई गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा मंगलबार दिउँसो उनको मृत्यु भएको गण्डक अस्पतालले जनाएको छ। 

वृद्धको मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पुष्टि भएको अस्पताल स्रोतले बतायो। 

मृतकको ट्राभल हिस्ट्री देखिएको छैन। यसका कारण वीरगन्जमा कोरोना कम्युनिटी लेभलमा गइसकेको आशंका गरिएको चिकित्सकहरुले बताएका छन्।