काठमाण्डौ । नेपालमा आयोजना भएको एक धार्मिक सभामा सहभागी हुन भारतबाट आई एक मस्जिदमा लुकेर बसेका तीन भारतीय नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । 

हेटौंडामा शुक्रबार उनीहरुको प्रारम्भिक परीक्षण गरिएकोमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएको थियो । उनीहरुको स्वाब पुनः परीक्षणका लागि काठमाडौं पठाइएकोमा यहाँ पनि पोजिटिभ नै देखिएको हो । योसँगै थप ३ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका एक अधिकारीले हेटौंडामा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र शनिबार साँझा काठमाडौंबाट नतिजा पोजेटिभ देखिएको खबर आएको बताएका छन् । 

सो मस्जिदमा बसेका २६ जना मुस्लिम धर्मका प्रचारकलाई शनिवार साँझ नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाइएको स्थानीय प्रहरीले जनाएको छ । उनीहरु सबै भारतको उत्तर प्रदेश र दिल्लीबाट आएका अनुसन्धानबाट खुलेको छ । क्वारेन्टाइनमा राखिएका उनीहरुको पनि स्वाब संकलन गरी परीक्षण थालिएको छ । 

त्यसअघि बिहीबार पनि छपकैया र बाराको घुसुकपुर मस्जिदबाट गरी २४ जना मुस्लिम धर्मप्रचारक नारायणी अस्पतालमा ‘स्क्रीनिङ’ का लागि आएका थिए । चिकित्सकले उनीहरूको स्वाब संकलन गरि प्रदेश नम्बर ३ को हेटौँडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पठाएको थियो । तीमध्ये ३ जनाको रिपोर्ट शंकास्पद देखिएको थियो, जसको रिपोर्ट काठमाण्डौबाट समेत पोजिटिभ नै पुष्टि भएको छ । 

भारतको उत्तर प्रदेशका उनीहरु उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन्। उनीहरु केहीदिनअघि दिल्लीमा भएको तब्लगी जमातमा सहभागी भई फर्किएको आशंका गरिएको छ । 

अहिले भारतमा तीव्र गतिमा फैलिइरहेको कोरोना भाइरसको जड दिल्लीमा भएको तब्लगी जमातलाई मानिन्छ । त्यहाँ सहभागीमध्ये २० जना भन्दा बढीको मृत्यु भइसकेको छ । 

संक्रमण पुष्टि भएका भारतीय नागरिक सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुने क्रममा नेपाल आएका बताइएको छ । सभा सकिए पनि उनीहरु भने वीरगञ्ज २ स्थित छपकैयास्थित मस्जिदमै बसेका थिए । उनीहरु कुन उद्देश्यले मस्जिदमै बसेका थिए भन्ने विषय खुलेको छैन । 

कोरोना संक्रमण पुष्टि भएकाहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।