काठमाण्डौ । चीनको वुहानस्थित बायरोलोजी इन्स्टिच्युटमा चमरोमा पाइने भाइरसको तीन सजीव स्ट्रेन वा नस्ल फेला परेको छ। तर संस्थाका निर्देशकले यी नस्लमध्ये कुनैमा पनि अहिले विश्वमा कहर मच्चाइरहेको कोरोनाभाइरससँग ठ्याक्कै मेला नखाएको दाबी गरेका छन्। 

वैज्ञानिकहरुको मान्यता छ कि कोरोनाभाइरसको सुरुआत वुहानबाट भएको र यो भाइरस पहिले चमेरोबाट आएको हो अनि त्यसपछि कुनै स्तनधारी जनावरबाट मानिससम्म पुगेको हो। 

समाचार एजेन्सी एएफपीका अनुसार वुहान इन्स्टिच्युट अफ बायरोलोजीका निर्देशन वाङ यान्यीले चीनको सरकारी टीभी च्यानल सीजीटीएनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र केही अन्यले दाबी गर्दैै आएको यो भाइरस वुहानको कुनै एउटा ल्याबमा फेला परेको भन्ने कुरा मनगढन्ते भएको बताएका छन्। 

यान्यीले आफ्नो सेन्टरमा चमेरोमा केही प्रकारका कोरोनाभाइरस पहिचान भएको जानकारी पनि दिए। ‘तर ती भाइरससार्स–कोभ–२ (अहिले विश्वमा फैलिरहेको) सँग केवल ७९.८ प्रतिशतमात्र मेला खाइरहेका छन्’, उनले भने। – एजेन्सी