काठमाण्डौ । सरकारले वृद्धि भत्तामा १ हजार रुपैयाँले वृद्धि गरेको छ । 

यसअघि ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकका लागि २ हजार उपलब्ध हुँदै आएको सामाजिक सुरक्षा भत्तामा १ हजार वृद्धि गरी ३ हजार पुर्याइएको हो। 

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत वृद्ध भत्ता वृद्धिको घोषणा गरेका हुन् । अब ७० वर्ष माथिको जेष्ठ नागरिकले राज्यबाट मासिक ३ हजार रुपैयाँ भत्ता पाउनेछन् । 

अर्थमन्त्री डा. खतिवडाले देशभरका १३ लाख बढी जेष्ठ नागरिकलाई वृद्धभत्ता वृद्धिबाट जीवन यापन सहज हुने बताए । 

यस्तै, उनले अति अशक्त, एकल महिला, लोपोन्मुखले पाउने भत्तामा पनि मासिक १ हजारले नै वृद्धि गरिएको घोषणा गरेका छन् । यो घोषणाले यो समूहमा रहेका करिब ९ लाख व्यक्तिको जीवन यापन सहज हुनेछ । 

प्रत्येक स्थानीय निकायमा जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र संचालन गरिने समेत घोषणा गरिएको छ । 

७० वर्षमाथिका सबै नागरिकको १ लाखसम्मको स्वास्थ्य बिमा सेवा निःशुल्क हुने कार्यक्रमलाई निरन्तर राखिएको छ भने अन्य परिवारको स्वास्थ्य बिमाको बिमांक रकम समेत दोब्बर गरी १ लाख पुर्याइएको छ ।