काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको बताएका छन् ।

‘नेपाल लगानी सम्मेलन’को बिहीबार राजधानीमा उद्घाटन गर्दै दाहालले सरकार वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन हरसम्भव प्रयासमा लागेको बताए । शान्ति र समृद्धि एक अर्काका परिपूरक भएको बताउँदै प्रधानमन्त्री दाहालले नेपाललाई वैदेशिक लगानीको गन्तव्य बनाउनका लागि सम्मेलन आयोजना गरिएको उल्लेख गरे ।

राजनीतिक स्थायित्व र राजनीतिक दलबीचमा सहज अवस्था भएमात्र निजी क्षेत्रका लागि उपयुक्त अवसर हुने बताउँदै उनले नीति तथा नियम एवम् वातावरणलाई उपयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा लगानी सम्मेलन २०१७ आजदेखि यहाँ सुरु भएको हो ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक विकासका लागि धेरै लगानीका क्षेत्र रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा लगानी गर्न आह्वान गरे ।

मन्त्री महराले सरकारले लगानीका लागि सबै वातावरण बनाउने उल्लेख गर्दै निरन्तर ऊर्जाको व्यवस्था गर्ने र नीतिगत व्यवस्था गर्ने आश्वस्त पारे । सरकारले परियोजना बैंक बनाएर लगानी छनोट गर्ने अवसर सिर्जना गरेको उल्लेख गर्दै उहाँले लगानीका लागि सबै क्षेत्रमा सहजीकरण गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्मेलनबाट नेपालले लाखौँ युवाका लागि रोजगारीका अवसर सिर्जना गर्नुपर्छ भन्ने सपना पूरा हुने बताए।

सम्मेलनका सहभागीलाई स्वागत गर्दै उनले नेपालमा लगानीका लागि थुप्रै सम्भावना रहेको उल्लेख गर्दै जलविद्युत्, कृषि, पर्यटनलगायतका क्षेत्रमा लगानी गरी तुलनात्मक लाभ लिन आह्वान गरे ।

लगानीका लागि आवश्यक पर्ने सबै पूर्वाधार तयार गरेको उल्लेख गर्दै उद्योगमन्त्री जोशीले लगानीकर्तालाई लगानी गरेकै मुद्रामा मुनाफा लैजान दिने र उद्योग स्थापना तथा खारेजीको वातावरण बनाउने बताए।

सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सहभागी छन् । नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलोपटक वैदेशिक लगानी भित्र्याउन अन्तर्रा्ष्ट्रिय सम्मेलन गरेको थियो ।