काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ आज मंगलबार (वैशाख १२ गते) बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा सिटी होटलको आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको थियो। 

यो कम्पनीले गत चैत २१ गते वैशाख ५ गतेसम्म विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। होटलले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि जारी गर्ने अनुमति पाएको थियो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १६ लाख ७४ कित्ता आईपीओ बिक्री गरिनेछ। 

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको थियो। 

यो आईपीओमा विदेशमा रहेका १९ हजार ७४८ श्रमिकबाट कुल ५ लाख ६८ हजार ९० कित्ता सेयर माग भएको थियो। तीमध्ये १९ हजार ७३९ आवेदकबाट परेको ५ लाख ६७ हजार ९७० कित्ता सदर भएको छ भने ९ आवेदकबाट परेको १२० कित्ता रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १६ हजार ७४० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने २ हजार ९९९ आवेदकको हात खाली भएको छ। 

सिटी होटलले सर्वसाधारणका लागि भने यही वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गर्नेछ। जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

सर्वसाधारणले पनि यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। 
सर्वसाधारणका जारी हुने आईपीओ निष्कासन बन्द भने छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ ८ गते बैंकिङ समयपछि हुनेछ।