 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका करिब साढे २१ हजार आवेदकले खरिद आवेदन दिएका छन्।
यो कम्पनीले गत वैशाख ३१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज जेठ १४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।
कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने ४३ करोड ५३ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्नेछ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कुल कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको थियो।
सीडीएससीका अनुसार आज साँझसम्म यो आईपीओमा २१ हजार ४०१ आवेदकबाट कुल ७ लाख ८ हजार ५८० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.६३ गुणाले बढी हो।
मागभन्दा बढी आवेदक परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ४३ हजार ५३० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपश्चात बाँकी रहेको कुल कित्ताको ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ३५ लाख २५ हजार ९३० कित्तामा सर्वसाधारणले जेठ २६ गतेबाट आवेदन दिन पाउनेछन्।
सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन्।
सर्वसाधारणका लागि जारी हुने आईपीओका निष्कासन बन्द भने छिटोमा जेठ ३० गते र ढिलोमा असार ८ गते बैंकिङ समयपछि हुनेछ।
नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19