काठमाण्डौ । चिरख्वा हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज भदौ १० गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने म्याद थप गरिएको छ। 

कम्पनीले पहिलो चरणमा गत साउन २८ गतेदेखि यी दुवै समूहलाई आईपीओ बिक्री गरेको थियो। यो आईपीओमा विदेशमा रहेका श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। स्थानीयले भने भदौ २५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थप गरिएको छ। 

कम्पनीले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल ४ लाख कित्ता सेयर स्थानीयका लागि निष्कासन गरेको हो। यो आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीयले खरिद आवेदन दिन सक्नेछन्। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले भोजपुरमा रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका स्थानीय शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने सेयरमध्ये १० प्रतिशतले हुन आउने ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला गरेको छ। उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारमा रहेकाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

यो आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।