काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीले मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ भर्ने आज कात्तिक २४ गते अन्तिम दिन रहेको छ। 

यी दुवै कम्पनीले गत कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेका थिए। यी आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। 

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ कलाख ४० हजार कित्ता आईपीओ बिक्री खुला गरको थियो। 

यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतममा १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। 

सीडीएससीका अनुसार हिजो बिहीबार साँझ ५ बजेसम्म यो कम्पनीको आईपीओमा ३२ हजार ६१ आवेदकबाट ७ लाख ५४ हजार ८४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ५.३९ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्राथबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १४ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

यो आईपीओको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ। 

यसैगरी नेपाल वेयरहाउजिङ कम्पनी जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको थियो। त्यसमध्ये पहिलो चरणमा कम्पनीले १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार यो आईपीओमा बिहीबार साँझ ५ बजेसम्म ३१ हजार ७५७ आवेदकबाट ७ लाख ७० हजार १४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ५.६० गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेकोले यो आईपीओमा गोलाप्रथाबाट बाँडफाँडट हुनेछ। जसमा भाग्यमानी १३ हजार ७५० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ। 

यी दुवै कम्पनीको आईपीओमा धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।