काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैशाख ३१ गतेदेखि र सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने ४३ करोड ५३ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको छ। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्नेछ। जमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर जारी गर्नेछ। बाँकी ३५ लाख २५ हजार ९३० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

विदेशमा रहेका नेपाली श्रमिक र सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ ५०० कित्तासम्म आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ १४ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन्। सर्वसाधारणका लागि जारी हुने आईपीओका निष्कासन बन्द भने छिटोमा जेठ ३० गते र ढिलोमा असार ८ गते बैंकिङ समयपछि हुनेछ। 

नेपाल रिपब्लिक मिडियाको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।