काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रवर्द्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह गरेको छ। 

काठमाण्डौको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो। 

दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकुर्यालसमक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट लगानी प्रवर्द्धन गर्न आग्रह गरे। नेपालमा लगानीसँगै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागिसमेत पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ। 

ईपीएसमार्फत कोरियामा ७७ हजार नेपाली युवाहरु कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीहरुकै सीप र लगानीलाई प्रवर्द्धन गर्न सकियो भने मुलुकले धेरै फाइदा लिन सक्ने बताए। उनले भने, ‘नेपाल हाउसको अवधारणाअन्र्तगत स्वदेशी उत्पादनहरुको प्रवर्द्धन गर्ने प्रचुर सम्भावना छ। पछिल्लो समय पस्मिना, हस्तकलाका सामग्री, जडीबुटी, भीरमहलगायतको माग कोरियामा बढ्दो छ।’ 

कोरियाली बहुर्राष्ट्रिय कम्पनीहरु नेपालमा स्थापनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा प्याकुर्यालको ध्यानाकर्षण गराए। 
भेटवार्तामा राजदूत प्याकुर्यालले पनि आफ्नो कार्यकालमा लगानी प्रवर्द्धन र द्विपक्षीय व्यापार नै पहिलो प्राथमिकता रहेको बताइन्। उनले भनिन्, ‘एसियाको महत्वपूर्ण आर्थिक शक्तिराष्ट्र दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन मेरो मुख्य प्राथमिकता रहनेछ।’

यस्तै चेम्बर पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसँग पनि चेम्बर भवनमा भेटवार्ता गरेका छन्। भेटवार्तामा नेपालमा लगानीको सम्भावना एवं द्विपक्षीय व्यापारबारे छलफल भएको छ। 

अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामानहरु कपडा, कार्पेट लगायतको निर्यातमा सहजिकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसंग आग्रह गरे। सूचना प्रविधि एवं पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे। 

स्लोभाकियाबाट हाल वार्षिक ५ हजारको हाराहारीमा पर्यटक नेपाल आइरहेको भन्दै यो संख्या अझै वृद्धि गर्नमा सहयोग गर्न अध्यक्ष मल्लले राजदूत म्याक्सिएनसँग आग्रह गरे। 

जवाफमा राजदूत म्याक्सिएनले नेपालसँग उच्चस्तरीय आर्थिक सम्बन्ध विस्तार गर्न आफू प्रतिबद्ध रहेको बताए। यसका लागि आफूले सरकारीस्तरमै पहल गरिरहेको उनको भनाइ छ।